प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले सरकार ढाल्न अनेक कसरत भइरहेको बताएका छन् । रूकुम पश्चिमको बाँफिकोटमा बिहीबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले वर्तमान सत्ता गठबन्धन टुटाएर सरकार ढाल्न षड्यन्त्र भइरहेकाले त्यसलाई चिरेर सरकार अघि बढ्ने बताएका हुन् । उनले कांग्रेससँगको गठबन्धन र सरकारले पाँच वर्ष पूरा गर्ने विश्वास समेत व्यक्त गरे ।
प्रधानमन्त्री दाहालले आफ्नो नेतृत्वमा भ्रष्टाचारविरूद्धको अभियान जोडतोडका साथ अघि बढेको पनि बताए । उनले भ्रष्टाचार सम्बन्धी सबै फाइल खोल्ने र कारबाही अघि बढाउने प्रतिबद्धता समेत व्यक्त गरे ।प्रधानमन्त्री दाहालले आफूले नै ‘प्रचण्डपथ’ त्यागेको स्वीकार गर्दै यसपछि माओवादी टुटफुटको अवस्थामा पुगेको बताए । उनले पार्टीलाई नयाँ शिराबाट अघि बढाएर लैजाने खोजिएको भन्दै सबै माओवादी एकीकृत हुनुको विकल्प नभएको पनि स्पष्ट पारे ।



माओवादी केन्द्रले थालेको ३ महिने विशेष रूपान्तरण अभियान प्रधानमन्त्री दाहालले बाँफिकोट पुगेका हुन् । उनीसँगै कर्णालीका मुख्यमन्त्री राजकुमार शर्मा र माओवादी केन्द्रका उपमहासचिवद्वय जनार्दन शर्मा र मातृका यादव पनि रूकुम पश्चिम पुगेका थिए ।



