काठमाडौं । जेनजी आन्दोलनका क्रममा भएको आगजनी र तोडफोडबाट करिव २ महिना बन्द रहेको चन्द्रागिरि हिल्स कात्तिक २२ गतेबाट सञ्चालनमा आयो । एक साता अघि देखि नै हामी ठिक छौं भन्दै प्रचार गरी पर्यटकलाई आकर्षित गर्दै आएको हिल्सले कात्तिक २२ गते शनिबार केबलकार सञ्चालनमा ल्यायो । संचालनमा ल्याएको दुई दिनपनि पूरा नहुँदै अर्को सूचना निकाल्दै केवलकार पुनः बन्द गर्यो ।

कुरा हो कात्तिक २४ गतेको । हिल्सले केबलकार अनुगमनका लागि चन्द्रागिरि नगरपालिकाका मेयर घनश्याम गिरी, उपमेयर बसन्ती श्रेष्ठ, प्रहरी प्रभाग थानकोटका प्रमुख डिएसपी एलिजा गिरी, सशस्त्र प्रहरी (एपीएफ) सतुंगलका प्रतिनिधि, नेपाली सेनाको थानकोट ब्यारेकका प्रमुखलगायत केही स्थानीयलाई बोलाएर अनुगमन र अवलोकन गरायो । त्यसक्रममा आगजनीबाट आफ्नो भएका क्षति तथा सञ्चालनबारे ब्रिफिङ गर्यो । तर, हलमा ब्रिफिङ भइरहँदा बाहिर भने हिल्सले केबलकार बन्द रहेको सूचना निकालिरहेको थियो । हिल्सको फेसबुक पेजमा लेखिएको थियो – Chandragiri Hills cable car is closed today for inspection – we’re sorry for the inconvenience. यसको मतलब हो- निरिक्षणका लागि केबलकार आजका लागि बन्द गरिएको छ, असुविधाका लागि क्षमाप्रार्थी छौं ।

केबलकार सञ्चालनमा आएको थाहापाएपछि भालेश्वर महादेवको दर्शन गर्न आएका श्रद्धालु तथा केबलकार चढ्न आएका पर्यटकहरु भने बाहिर अन्योलमा देखिन्थे । परिवारका साथ रमाइलो गर्न चन्द्रागिरि केबलकार पुगेका पर्यटकहरु भने केबलकार बन्द हुँदा हिल्सले झुक्याएको भन्दै असन्तुष्टि पोखिरहेका थिए । विदेशबाट प्राविधिक झिकाएर परिक्षण र निरिक्षण गरेको केबलकार दुई दिन नबित्दै किन बन्दको सूचना निकाल्नु पर्यो ? जेनजी आन्दोलनपछि पहिलो पटक शनिबार केबलकारले आफ्नो सम्पूर्ण अपरेशन पूर्णरुपमा संचालनमा आएको भन्दै प्रचारबाजी गरेको थियो । हिल्सले आन्तरिक तथा बाह्य पर्यटकहरुलाई निर्धक्क भएर केबलकार चढ्न आह्वान गरेको थियो । तर, सोमबारको सूचनाले केबलकारमा अझै प्राविधिक गढबढी रहेको स्पष्ट देखिन्छ । किन हिल्सले ब्यापारका नाममा सर्वसाधारणको ज्यानमाथि नै खेलबाड गर्न खोजेको भन्दै केही पर्यटकहरु यस्तै यस्तै प्रतिक्रिया दिइरहेका थिए ।

चन्द्रागिरि हिल्सले शनिबार केबलकार संचालनमा सोही दिनमा पनि केबलकार बीचबीचमा अड्किदै चलिरहेको थियो । तर, हिल्सले भने यो नितान्त विदेशी प्रविधि भएकाले सिष्टमले नै बेला बेला अड्काउने जवाफ दिँदै आइरहेको छ । तर, आगजनीबाट क्षति भएको केबलकार सञ्चालनमा ल्याउन किन यति हतार ? सोमबारको घटनाले यो आम चासोको विषय बनेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय