सिराहा, वैशाख १ — सिराहाको लहान नगरपालिका–२ मा अवस्थित ऐतिहासिक सलहेश फूलबारीमा प्रत्येक वर्षझैं यस वर्ष पनि वैशाख १ गते भव्य मेला लागेको छ। परापूर्वकालदेखि चलिआएको यो सांस्कृतिक तथा धार्मिक मेलामा नेपाल र भारतका विभिन्न भूभागबाट हजारौं श्रद्धालुहरूको सहभागिता रहेको छ।

नौ विघा क्षेत्रफलमा फैलिएको यो फूलबारी विशेषतः हारमको बोटमा फुल्ने अद्भुत फूलका लागि प्रसिद्ध छ, जुन हरेक वर्ष वैशाख १ गते राजा सलहेशप्रतिको प्रेम प्रतीकस्वरूप फक्रने जनविश्वास रहिआएको छ। यस वर्ष भने उक्त फूल पूर्ण रूपमा नफक्रिए पनि हारमको बोटमुनि पूजापाठ गर्ने र फोटो खिच्ने श्रद्धालुहरूको बिहानैदेखि बाक्लो उपस्थिति देखिएको छ।

इतिहास, किम्बदन्ती र आस्थाको संगम

विक्रम संवत १३२५ तिरको समयलाई स्मरण गराउने यो मेलाको मूल आकर्षण राजा सलहेश र फूलबारीकी मालिनी कुशमाबीचको प्रेमगाथा हो। जनश्रुतिअनुसार, उनीहरूबीच गहिरो प्रेम भए तापनि पारिवारिक कारणवश विवाह सम्भव भएन। तर, कुशमा प्रत्येक वर्ष वैशाख १ गते सलहेशको प्रतीक्षामा हारमको बोटमा माला बनेर प्रकट हुने विश्वास छ। यही कारणले यो दिन विशेष महत्व राख्दछ।

किम्बदन्ती अनुसार, राजा सलहेश प्रत्येक विहान मानिकदहमा स्नान, फूलबारीमा फूल टिप्ने, सिलहटमा कुस्ती खेल्ने, कुलदेवीको पूजा गर्ने, अनि कञ्चनगढमा जनताको दुःखसुख सुन्ने कार्यमा लिप्त रहन्थे।

आस्थाको केन्द्र, पासवान समुदायको इष्टदेव

राजा सलहेशलाई तराई क्षेत्रका पासवान समुदायले आफ्नो इष्टदेव तथा लोकनायकका रूपमा पूज्ने गर्छन्। जनविश्वास अनुसार, सलहेशको पूजाआराधनाले मनोकांक्षा पूर्ति, सन्तान प्राप्ति तथा चर्मरोग, कुष्ठरोगजस्ता व्याधिहरूको निवारण हुने विश्वास गरिन्छ।

संस्कृति, श्रद्धा र पहिचानको उत्सव

सलहेश फूलबारीमा लाग्ने मेला केवल धार्मिक कर्मकाण्डमा सीमित छैन, यो मेलाले तराई(मधेसको संस्कृति, पहिचान र ऐतिहासिक गौरवलाई उजागर गर्ने माध्यम बनेको छ। मेलामा नाचगान, लोकभाषाका गीत, पारम्परिक भेषभूषा र परिकारहरूको विशेष प्रदर्शनले विविध सांस्कृतिक आयाम समेटिएको देखिन्छ। यस ऐतिहासिक फूलबारीको संरक्षण, प्रचारप्रसार र अध्ययन–अनुसन्धान आवश्यक छ, ताकि भावी पुस्ताले पनि यस प्रेम, आस्था र संस्कृतिको गाथा जीवित राख्न सकोस्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय