सल्यान — जिल्ला प्रहरी कार्यालय सल्यानले फागुन महिनामा विभिन्न मुद्दाका फरार १६ प्रतिवादी पक्राउ गरेको छ। प्रहरी निरीक्षक पूर्ण बहादुर केसीका अनुसार, उनीहरूलाई जिल्लाका विभिन्न स्थानबाट नियन्त्रणमा लिइएको हो। सोही अवधिमा बेवारिसे अवस्थामा रहेका १६ नालभरुवा बन्दुक पनि बरामद गरिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार, फागुन महिनामा १५ नयाँ मुद्दा दर्ता भएका छन् भने पुराना र नयाँ गरी २२ मुद्दा फर्छ्यौट गरिएको छ। सवारी दुर्घटना न्यूनीकरणका लागि २४१ सवारी साधन कारबाहीमा परेका थिए, जसबाट २,१२,५०० रुपैयाँ राजस्व संकलन भएको छ। साथै, अवैध बालुवा ओसारपसारमा संलग्न एक ट्र्याक्टर नियन्त्रणमा लिइएको छ।



समुदायमा सचेतना फैलाउने उद्देश्यले ४८ सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको छ, जसमा २,१४१ नागरिक सहभागी भएका थिए। कार्यक्रममा आत्महत्या न्यूनीकरण, बालविवाह, लागूऔषध र साइबर अपराधविरुद्ध जनचेतना फैलाउने काम गरिएको थियो। स्थानीयहरूले पछिल्लो समय बढ्दो आत्महत्या र साइबर अपराध नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न माग गरेका छन्। प्रहरी निरीक्षक केसीले भने, “शान्ति सुरक्षा कायम राख्न नियमित गस्ती र सूचना संकलनलाई तीव्र पारिएको छ।”



