कैलालीको टिकापुरमा सवा ३ करोड लागतमा बनेको घण्टा घर (भ्यू टावर) प्रयोगविहीन बन्दै गएको छ। चारवटा घडी जडान गरिएको यो संरचना निर्माण भएको ५ वर्ष बितिसक्दा पनि सञ्चालनमा आउन सकेको छैन। घडीहरू चल्दैनन्, बाहिरका सिसाहरू फुटाइएका छन् । कैलालीको टिकापुरमा ३ करोड २६ लाखको लागतमा रोयल प्रशंसा कन्स्ट्रक्सनले निर्माण गरेको चारतले घण्टा घर अहिले प्रयोगविहीन छ। यो संरचनामा २-२ लाख मूल्यका चारवटा घडी जडान गरिएका छन्, तर ती घडीहरू जडान भएदेखि नै चल्दैनन्। सय मिटर टाढाबाट समय नदेखिने यी घडीहरूको उपयोगिता शून्य छ।

घण्टा घरमा रेस्टुरेन्ट सञ्चालन गर्ने र लाइटिङसहितको आकर्षक संरचना बनाउने योजना थियो। तर, निर्माण कम्पनीले नगरपालिकालाई हस्तान्तरण गर्नुअघि नै घडीहरू बन्द भए। हाल नगरपालिकाको स्वामित्वमा रहेको यो संरचनाका बाहिरी सिसाहरू कसैले ढुंगा हानेर फुटाएका छन्। राज्यको लगानी बालुवामा पानी खन्याएजस्तै भयो। नगरपालिकाको वडा नम्बर १ को ब्लक नं। १९ मा घण्टाघर बनाइएको छ । २०७५ फागुन १९ गते घण्टाघर निर्माणका लागि सम्झौता भएको थियो । सम्झौताअनुसार निर्माण कम्पनीले २०७७ भदौ २५ गते काम सम्पन्न गर्नुपर्ने थियो । तर कोरोना सङ्क्रमणका कारण २०७८ मा मात्र निर्माण सम्पन्न भएको घण्टाघर सञ्चालन हुने अझै निश्चित छैन । नगरपालिकाले घण्टाघर चलाउने प्रयास गरे पनि सफल हुन सकेको छैन । नगरपालिकाले घडी सञ्चालन गर्न दुई पटक टेन्डर आह्वान गरेको जनाएको छ । तर कसैले पनि टेन्डर हालेनन् । विगतमा योजना बनाउनेहरूले टिकापुरलाई सुहाउँदो योजना नल्याउँदा समस्या भएको नगरप्रमुखको गुनासो छ ।

घण्टाघरलाई भ्यु टावरका रूपमा प्रयोग गर्न सकिने गरी निर्माण गरिएको छ । यहाँबाट टीकापुरको अवलोकन गर्न सकिने व्यवस्था मिलाइएको छ । २६ मिटर उचाइ रहेको यो घण्टाघरबाट टीकापुर बजार क्षेत्रको अवलोकन गर्न सकिनेछ । तर स्थानीय भने घण्टाघरको उचाइ कम भएकाले यहाँबाट केही घरबाहेक अन्य दृश्य देख्न नसकिने बताउँछन । टीकापुरको घण्टाघर राज्यको लगानी सही ठाउँमा लगानी नहुनुको एउटा उदारण बनेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय