काठमाडौं । शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाका पूर्वअध्यक्ष केदारनाथ शर्मा पक्राउ परेका छन् ।
१४ अर्ब रुपैयाँभन्दा बढी निक्षेप हिनामिना गरेको आरोप लागेका शर्मालाई सीआईबीको टोलीले भारतको मुम्बईबाट पक्राउ गरेको हो । मुम्बईस्थित एक विधायकको घरमा लुकेर बसेको अवस्थामा पक्राउ गरेर उनलाई नेपाल ल्याइएको हो । संस्थामा निरन्तर धाइरहे पनि रकम फिर्ता नपाएपछि बचतकर्ताहरुले सीआईबी र सहकारी विभागमा उजुरी दिएका थिए । अनुसन्धानको क्रममा सीआईबीले यही असार १ गते सूचना जारी गरी काठमाडौं र ललितपुर जिल्ला भित्रका सेवा केन्द्रहरुमा निक्षेपकर्ता सदस्यहरुले जम्मा गरेका रकम हिनामिना भई ठगी हुन गएको भए प्रमाणसहित जाहेरी दिन आह्वान गरेको थियो । केदारनाथ शर्माले भारतमा पनि श्रीमती गीताको नाममा संस्था खोलेको पाइएको छ । गीताले एक हप्तामा श्रीमानलाई उपस्थित गराउने प्रहरी सामू प्रतिवद्धता जनाएपनि केएन सम्पर्कमा नआएपछि सीआबीले खोजी तीब्र पारेको थियो । शर्मा नेतृत्वको मोरङको तुलसी सहकारीबाट पनि भएको ठगीको मोरङ प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।



शर्मा फरार भएसँगै उनीद्वारा सञ्चालित अर्थ न्यूज एचडी टेलिभिजनका कर्मचारीहरुले पारिश्रमिक पाएका थिएनन् । करिव चार महिनादेखि पारिश्रमिक दिन नसकेपछि उक्त टेलिभिजन अहिले बन्द भएको छ ।



