रुपन्देही क्षेत्र नम्बर–३ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेता दीपक बोहराको मंगलबार निधन भएको छ। चार दशकभन्दा बढी समय नेपाली राजनीतिमा सक्रिय रहेका बोहरा २०७९ को आमनिर्वाचनमा कुनै भाषण नगरी विजयी हुनुभएको थियो ।पञ्चायतदेखि बहुदल हुँदै गणतन्त्रसम्म विभिन्न जिम्मेवारी सम्हालेका राप्रपा सांसद दीपक बोहराले यो संसदीय यात्रामा एक शब्द बोल्नु भएन । संसद बैठकमा कहिल्यै नबोलेका बोहराले एकपटक प्रधानमन्त्रीसँग प्रश्नोत्तर गर्न लिखित प्रश्न पठाउनु भएको थियो । तर, सभामुखले प्रश्न अरू सांसदले पढिदिने सुविधा नहुने बताएपछि त्यो पनि सुनुवाइ भएन।
भाषणविहीन चुनावी जित



२०७९ सालको आमचुनावमा बोहराले तत्कालीन गृहमन्त्री तथा सत्ता गठबन्धनका उम्मेदवार बालकृष्ण खाणलाई पराजित गर्नुभएको थियो । ३६ हजार ७१७ मत प्राप्त गरेका बोहराले खाणलाई ६८१ मतान्तरले पराजित गर्नुभयो । बोहराले चुनावी सभाहरूमा बोल्न नसके पनि आफ्नो प्रतिबद्धता लिखित रूपमा प्रस्तुत गर्नुहुन्थ्यो । उहाँका सन्देशहरू पूर्वगृहमन्त्री निरञ्जन थापा तथा प्रदेश संयोजक प्रदीप उदयले मतदातासामु वाचन गर्नुहुन्थ्यो ।एमालेसँगको चुनावी तालमेलका कारण बलियो उम्मेदवार बोहराले प्रचारप्रसारमा घरदैलो कार्यक्रम तथा सभाहरूमा उपस्थिति जनाए पनि भाषण भने गर्नुभएन ।
राजनीतिक यात्रा
२०३६ सालमा संसदीय राजनीति सुरु गरेका बोहरा २०३८ र २०४० मा पर्यटन राज्यमन्त्री हुनुभयो । २०४२ सालमा राष्ट्रिय पञ्चायत सदस्य निर्वाचित बोहरा बहुदलपछि २०५७ मा बैंक अफ काठमाडौंको अध्यक्ष, २०६७ मा वन तथा भूसंरक्षणमन्त्री तथा राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्ष हुनुभयो । २०६९ मा संविधानसभा सदस्य निर्वाचित भएका बोहराले २०७२ मा श्रम तथा रोजगारमन्त्री, २०७३ मा आपूर्तिमन्त्री र २०७४ मा स्वास्थ्यमन्त्रीको जिम्मेवारी सम्हाल्नु भएको थियो ।
कोरोनापछि हराएको आवाज
पोस्ट कोभिड समस्याले गर्दा बोहरार बोल्न नसक्ने अवस्थामा हुनुहुन्थ्यो । बोहरा कोरोना महामारीको दोस्रो लहर २०७७ साल जेठमा संक्रमित हुनु भएको थियो । संक्रमणको चाररपाँच महिनापछि बोहराको स्वरमा केही परिवर्तन देखिएको थियो । पछि थप उपचारका लागि दिल्ली पुगेका बोहरालाई चिकित्सकहरूले पोष्ट कोभिडका कारणले घाँटीमा समस्या भएको बताएका थिए । पोस्ट कोभिडका कारण घाँटीमा क्यान्सर भएका बोहराको मंगलबार उपचारकै क्रममा काठमाडौंको ओम अस्पतालमा निधन भयो ।
निजी जीवन
सिद्धार्थनगर नगरपालिका वडा नम्बर ३, खजहानाका स्थायी बासिन्दा बोहराको जन्म २००७ साल चैत १८ गते पाल्पामा भएको थियो। पिता प्रतिमानचन्द्र बोहरा तथा आमा निमा बोहराको कोखबाट जन्मिएका बोहराले राजनीतिशास्त्रमा स्नातक गर्नुभएको थियो ।



