काठमाडौँको सार्वजनिक यातायातको इतिहाससँग जोडिएको नाम हो साझा यातायात । एक समय काठमाडौंको सडकमा साझा बसको प्रभुत्व थियो । तर, व्यवस्थापन कमजोरीसँगै भएको घाटाले संस्था बन्दको अवस्थामा पुगेको थियो । तर अब समय अनुकूल बन्दै लोकप्रिय बनेको छ । थप १०० वटा बिजुली बस थप्दै सेवा विस्तारको लय समात्ने प्रयासमा छ ।
अहिलेसम्म राजधानी काठमाडौंको सडकमा डिजेल र पेट्रोलमा चल्ने सार्वजनिक बसको दबदबा छ । तर पछिल्लो समय विद्युतीय यातायातको साधन विस्तार हुँदै गएको छ । यही क्रममा साझा यातायातले ४० वटा विद्युतीय बस सञ्चालनमा ल्याइसकेको छ र दसैंअघि चीनबाट थप १०० वटा विद्युतीय बस ल्याउने तयारी भइरहेको छ । यो योजना सरकारको चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा समेत समावेश गरिएको छ, जसले सार्वजनिक यातायातलाई क्रमिक रूपमा विद्युतीय बनाउने लक्ष्य छ । अस्तित्व नै संकटमा पार्न लागेको साझा यातायातलाई कनकमणि दीक्षित संचालक समितिको अध्यक्षको रुपमा रहँदै पुनःजीवन दिने पहल गर्नुभयो । अहिले भने संस्थाको नेतृत्व सुशील राज प्याकुरेलले गरिरहनु भएको छ । प्याकुरेलको नेतृत्वमा साझाले फेरि सेवा विस्तारको बाटो समातेको छ ।



विद्युतीय बसको फाइदा
डिजेल बसको तुलनामा सञ्चालन खर्च कम ।
धुवाँरहित भएकाले वायु प्रदूषण घटाउने क्षमता ।
कम आवाज हुने भएकाले ध्वनि प्रदूषण पनि घटाउने ।
समयमै गन्तव्य पुग्ने र यात्रुका लागि भरपर्दो सेवा ।
विद्युतीय बसहरू किफायती, दिगो र व्यवस्थापनमैत्री छन् ।
चलाउन पनि सजिलो भएको चालक बताउछन् ।
तर साझा यातायातलाई विद्युतीय बस विस्तारमा चुनौती पनि छ । चार्जिङ स्टेशनको संख्या सीमित छ । अहिले कार्यालयमै मात्र चार्जिङ सुविधा छ । थप १०० बस ल्याएपछि सडक पूर्वाधार र चार्जिङ व्यवस्थापन कस्तो हुन्छ भन्ने अनिश्चितता छ । साझा यातायात अझै घाटामा छ, र दीर्घकालीन वित्तीय मोडेल स्थिर छैन । दिगो र वातावरणमैत्री यातायातको सुरुवात भइसकेको छ । साझा बस फेरि यात्रुको रोजाइमा फर्किरहेको छ । तर केवल बस थप्नु मात्र पर्याप्त छैन । अब सरकार र संस्थाले सही व्यवस्थापन गरे काठमाडौंको हरियाली सार्वजनिक यातायातको सपना पूरा हुन सक्छ ।



