काठमाडौं । काठमाडौंको चन्द्रागिरि र कीर्तिपुर क्षेत्रमा मनाइने सात गाउँले जात्राको मुख्य दिन विष्णुदेवी क्षेत्रमा धुमधामका साथ खटजात्रा गरी मनाइँदैछ । कीर्तिपुर क्षेत्रका नेवार समुदायमा मंसिर महिनाको थिंलाथ्व अष्टमी, नवमी र दशमी गरी तीन दिनसम्म जात्रा मनाउने चलन छ । नवमीको दिनमा कीर्तिपुरको पाँगामा विष्णुदेवी रथ जात्रा मनाइएको थियो भने आज दशमीका दिन कीर्तिपुरमा इन्द्रायणी जात्रा गर्ने चलन छ । चन्द्रागिरिको बोसीगाउँ, सतुंगल, पुरानो नैकाप, लोहँकोट, नयाँ नैकाप र तीनथानालगायतका बासिन्दाले तीनथानामा रहेको विष्णुदेवीलाई विशेष पूजाअर्चना गर्दछन् ।
बिहानैदेखि नैकाप, सतुङ्गल र तीनथानाको सीमामा रहेको विष्णुदेवी पीठमा आज सातैगाउँको प्रतिकका रुपमा खट तथा घ्याम्पो प्रर्दशन गरी जात्रा मनाइने भएकाले भक्तजनको घुँइचो लागेको छ ।



परम्पराअनुसार सातगाउँका शक्तिपीठमध्ये बल्खुकी विष्णुदेवीलाई आमा र मच्छेगाउँ, बोसीगाउँ, सतुंगलका शक्तिपीठ र भैरवलाई उनका सन्तान मानिन्छ । आमालाई भेट्न हरेक वर्ष मङ्सिर शुल्क नवमीका दिन सन्तानहरु आउने विश्वासअनुसार बिहानै सबै गाउँको रथ ल्याउने गरिन्छ । आजै देव–देवीको पूजा गरेर सात गाउँबाट ल्याएको खटलाई मन्दिर परिसरमा घुमाई आ–आफ्नो टोलमा फर्काउने परम्परा छ ।



