सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सात दिनभित्र दर्ता नभए मेटालाई नेपालमा प्रतिबन्ध लगाउने चेतावनी दिनुभएको छ । आज काठमाडौँमा राष्ट्रिय सूचना आयोगद्वारा आयोजित सूचनाको हकसम्बन्धी विभागस्तरीय अन्तरक्रिया कार्यक्रममा बोदै मन्त्री गुरुङले मेटालाई नेपालमा दर्ता हुन आग्रहसहित पटक पटक सूचना जारी गरे पनि नमानेको बताउनुभयो । उहाँले तेस्रो पटकको सूचनाको मिति केही दिनअघि सकिएको भन्दै अबको सात दिनभित्र दर्ता नभए मेटालाई नेपालमा प्रतिवन्ध लगाउने चेतावनी दिनुभयो । मन्त्री गुरुङले नेपालबाट पल–पलमा पैसा मेटाको कार्यालयमा गएको भन्दै मेटाले नेपालमा दर्ता भई कर तिर्नुपर्ने बताउनुभयो ।



उहाँले नेपालमा हालसम्म टिकटक, भाइबर र वी–टक मात्रै दर्ता भएको जानकारी गराउनुभयो । यस्तै मन्त्री गुरुङले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाउने समाचार मन्त्रीपरिषद्को निर्णय हुनुभन्दा पहिले सञ्चारमाध्यममा आएकोमा आक्रोश पोख्नुभयो । मन्त्री गुरुङले सरकारले गरेको निर्णयहरू कुनै बेला फिर्ता लिनुपर्ने हुनाले २४ घण्टापछि मात्रै मन्त्रीपरिषद्का निर्णयहरू सार्वजनिक गर्ने निर्णय गरिएको स्पष्ट पार्दै त्यस्ता मन्त्रीको बारेमा आफूले प्रधानमन्त्रीसँग पनि कुराकानी गरेको जानकारी गराउनुभयो ।



