नेपाल सरकारले सात दिनभित्र सूचीकरण नगर्ने सामाजिक सञ्जाललाई नेपालभित्र निष्क्रिय गर्ने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले गरेको निर्णयबारे बुधबार सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए।उनका अनुसार, नेपालमा सञ्चालन भइरहेका सामाजिक सञ्जालहरूलाई तोकिएको समयसीमाभित्र सूचीकरण प्रक्रियामा सहभागी हुनुपर्नेछ। तोकिएको अवधिमा सूचीकरण नगर्ने वा सम्पर्कमा समेत नआउने सञ्जाललाई नेपाल दूरसञ्चार प्राधिकरणमार्फत निष्क्रिय गराइनेछ।
मन्त्री गुरुङले भने, “सूचीकरण नगरेका सामाजिक सञ्जाललाई क्रमशः निष्क्रिय गराइनेछ भने सूचीकरण गरेमा तत्काल सक्रिय गराइनेछ।”सरकारले सामाजिक सञ्जाल प्रयोग निर्देशिका २०८० र सर्वोच्च अदालतको आदेशअनुसार सामाजिक सञ्जाल कम्पनीलाई जिम्मेवार बनाउन यो कदम चालिएको हो।निर्देशिकाअनुसार, नेपालमा प्रयोग हुने सामाजिक सञ्जाल कम्पनीहरूले नेपालमा आफ्नो आधिकारिक सम्पर्क बिन्दु तोक्नु पर्नेछ र त्यसको विवरण सम्बन्धित निकायलाई उपलब्ध गराउनुपर्नेछ। सरकारको भनाइमा, यो निर्णयले सामाजिक सञ्जालको दुरुपयोग नियन्त्रण गर्ने, प्रयोगकर्ताको हक अधिकार सुरक्षित गर्ने र जिम्मेवार प्रयोगलाई सुनिश्चित गर्ने लक्ष्य राखेको छ।






