भारतको गोवामा मे २५ देखि जुन ५ तारिखसम्म आयोजना हुने साफ महिला च्याम्पियनसिप–२०२६ का लागि नेपाली महिला फुटबल टोलीको बिदाइ गरिएको छ । साफ महिला च्याम्पियनसिप मा सहभागी हुने टोलीलाई बिहीबार एक कार्यक्रमबीच बिदाइ गरिएको हो ।
बिदाइ कार्यक्रममा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल, खेलकुद मन्त्रालयका सल्लाहकार सिद्धि व्यन्जनकार र राजु सिंह, राष्ट्रिय खेलकुद परिषद (राखेप)का सदस्यसचिव रामचरित्र मेहता तथा अखिल नेपाल फुटबल संघ का अध्यक्ष पंकजविक्रम नेम्वाङलगायतको उपस्थिति रहेको थियो । टोली शुक्रबार गोवा प्रस्थान गर्नेछ ।



नेपाल समूह ‘ए’ मा रहेको छ, जहाँ श्रीलङ्का र भुटान रहेका छन् । समूह ‘बी’ मा आयोजक भारत, बङ्गलादेश र माल्दिभ्स छन् । नेपालले आफ्नो पहिलो खेल मे २५ मा भुटानसँग र दोस्रो खेल मे ३१ मा श्रीलङ्कासँग खेल्नेछ । समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् । प्रशिक्षक नवीन न्यौपानेले छोटो तयारी भए पनि टोलीको लक्ष्य उपाधि जित्ने रहेको बताएका छन् । एन्फाले गोलरक्षक एञ्जिला तुम्बापो सुब्बाको कप्तानीमा २३ सदस्यीय अन्तिम टोली घोषणा गरेको छ ।



