काठमाडौं । साफ महिला च्याम्पियनसीप २०२४ को फाइनल प्रवेशका लागि नेपाल र भारतबीच प्रतिस्पर्धा हुने भएको छ । अर्को सेमीफाइनलमा बंगलादेशले भुटानलाई प्रतिद्वन्द्वी पाएको छ ।

नेपालले चिरपरिचित प्रतिद्वन्द्वी भारतसँग फाइनलमा मात्रै प्रतिस्पर्धा गर्दथ्यो । तर, पछिल्लो समय सेमीफाइनलमै यी दुई टोली भिड्न लागेका हुन । अहिले साफ महिला च्यापियनसीपको सातौं संस्करण चलिरहेको छ । साफ च्याम्पियनसीपको अघिल्लो ६ मध्ये ५ संस्करणमा भारतसँग पराजित हुँदै नेपाल उपाधि नजिक पुगेर चुकेको थियो । नेपाल र भारत चार पटक फाइनल तथा दुई पटक सेमीफाइनलमा भिडेका छन् । पछिल्लो पटक सन् २०२२ मा नेपालमै भएको छैटौं संस्करणमा नेपाल र भारत सेमीफाइनलमा भेट हुँदा नेपाल १–० ले विजयी भएको थियो । त्यो नेपालले भारतलाई साफमा हराएको पहिलो पटक हो ।

साफको हरेक संस्करणमा नेपाल र भारत कुनै न कुनै रुपमा भेट भइरहेकै छन् । सातौं संस्करणको साफ चलिरहँदा नेपाल र भारत पनि सातौं पटक नै भेट हुन लागेको हो । सन् २०१० देखि २०१४ सम्म लगातार तीन संस्करणको फाइनल खेल्दा नेपाल भारतसँग पराजित भएको थियो । त्यसपछि २०१६ मा सेमीफाइनलमै भेट हुँदा पनि भारत विजयी भयो ।

यस्तै सन् २०१९ मा विराटनगरमा भएको पाँचौ साफमा फेरि फाइनलमा भेट हुँदा नेपाल भारतसँग पराजित भयो । सन् २०१९ को फाइनलमा भारत विजयी हुँदा २०२२ को सेमीफाइनलमा भारतलाई हराएर नेपालले बदला लिएको थियो । जारी संस्करणमा साविक विजेता बंगलादेश समूह ए को विजेता तथा सर्वाधिक पाँच पटकको विजेता समूह ए को उपविजेता बन्दै सेमीफाइनल पुगेको हो । बंगलादेश यस समूहबाट अपराजित रह्यो । बंगालदेशसँग अन्तिम खेलमा ३–१ ले पराजित भएपछि भारत समूह उपविजेता बनेको हो । २०२२ मा पनि भारत समूहमा बंगालदेशसँग ३–० ले पराजित भएपछि समूह उपविजेता बनेको थियो । साफ र सागमा भारत नेपालका लागि जहिल्यै ठूलो चुनौतीको रुपमा रहँदै आएको छ । २०२२ को साफ सेमीफाइनल बाहेक यी दुई प्रतियोगितामा नेपालमाथि भारत नै हावी बनेको छ । साफमै पनि चार पटक फाइनल र एक पटक सेमीफाइनलमा नेपाल भारतसँग पराजित भएको छ । तर पछिल्लो पटक भारतलाई हराएको नेपालले यस पटक पनि सेमीफाइनलमा भारतलाई हराउने लक्ष्य राखेको छ ।

नेपालका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले अब जसरी पनि भारतलाई हराउनेमा केन्द्रित हुने बताएका छन् । समूह ए को अन्तिम खेलमा बंगलादेशसँग भारत पराजित भएको थियो । तर भारतका मुख्य प्रशिक्षक सन्तोष कश्यपले भने आफूले खेलमा एक्सपेरिमेन्ट गरेकोले खासै चिन्तित नभएको बताएका थिए । नेपालको लागि आइतबार हुने सेमीफाइनल वास्तविक परीक्षा हुनेछ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय