काठमाडौं । साफ यू–१९ च्याम्पियनसीप बिहीबार देखि काठमाडौंमा हुँदैछ । २ पटकको विजेता नेपालले यस पटक घरेलु मैदानमा उपाधि जित्ने लक्ष्य लिएको छ । तर नेपालले त्यस अनुसार तयारी भने गर्न पाएको छैन । गत वर्ष जस्तै यस पटक पनि नेपालले खुल्ला छनोटमार्फत् टोली बनाएको हो । जिल्ला र प्रदेश छनोट हुँदै अन्तिम चरणको छनोटमा परेका खेलाडीहरुले १ महिनामात्र तयारीको समय पाए । देशका विभिन्न ठाउँबाट छनोटमा परेका खेलाडीलाई एकैचोटी अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्नु पर्दा केही कठिनाई हुने देखिए पनि अभ्यास खेलले फाईदा पुग्ने प्रशिक्षक सुनिल श्रेष्ठ बताउँछन् । सिनियर राष्ट्रिय टोलीसँग पनि मैत्रीपूर्ण खेल्यौँ जसले गर्दा नयाँ खेलाडीहरुलाई पनि सहज भएको प्रशिक्षक श्रेष्ठले बताउनु हुन्छ ।
अधिकांश नयाँ खेलाडी समेटेर बनाइएको टोलीमा जियारथ शेख र निराजन धामीले मात्र घरेलु फुटबलको शीर्ष श्रेणीको लीग खेलेका छन् । त्यसबाहेक गत वर्ष साफ यू १७ खेलेका १० जना खेलाडी टोलीमा छन् भने बाँकीका लागि यो नै अहिलेसम्मको ठूलो प्रतियोगिता हो ।




६ टोली सहभागी प्रतियोगितामा नेपाल रहेको समुहमा माल्दिभ्स र पाकिस्तान छन् । समुहका शीर्ष २ टोली सेमीफाइनल प्रवेश गर्नेछन् । कुनै एक समय उमेर समुहमा नेपाललाई बलियो टोलीका रुपमा लिइन्थ्यो । तर अहिले भारत, बंगलादेश र भुटानले समेत उमेर समुहको फुटबलमा दीर्घकालिन योजनाका साथ लगानी गरिरहेका छन् । जसको नतिजा समेत देखिन थालेको छ । यद्यपी गत वर्ष भन्दा टोली स्तरीय रहेको प्रतिक्रिया पाएका खेलाडीहरु उपाधि जित्नेमा आत्मविश्वासी देखिन्छन् । प्रशिक्षकले हाई पेसमा प्राक्टिस गराइरहेको कप्तान जियारथ शेख बताउँछन् । मिडफिल्ड सबैभन्दा राम्रो देखिएको छ । अन्य पोजिसनमा पनि राम्रो भइरहेको कारण टीम सन्तुलित बनेको कप्तान शेखको विश्वास छ ।

सन् २०१५ मा नेपालबाटै सुरु भएको यो प्रतियोगिताको अहिले पाँचौं संस्करण हुन लागेको यो । नेपालले पहिलो र दोस्रो संस्करणको उपाधि जितेको छ । सन् २०१७ मा भुटानमा भएको दोस्रो संस्करण यू १८ का खेलाडीलाई समावेश गराइएको थियो । तेस्रो संस्करणपनि १८ वर्ष मुनिकै खेलाडी समावेश गरिए पनि गत वर्ष भारतमा भएको संस्करण २० वर्ष मुनिको खेलाडी सहभागी गराइएको थियो । जहाँ नेपालले लीग चरणबाटै बाहिरिएको थियो ।




