काठमाडौं । इन्स्टाग्राममार्फत चिनजान भएको युवकको आपराधिक गतिविधिबारे जानकारी पाएपछि सम्बन्ध तोडेकी एक युवतीमाथि प्रतिशोध स्वरूप आक्रमण भएको घटना भारतको तामिलनाडु राज्यमा सार्वजनिक भएको छ । घटनापछि स्थानीय क्षेत्रमा त्रास फैलिएको छ भने प्रहरीले आरोपीहरूको खोजी तीव्र बनाएको छ ।
भारतीय सञ्चारमाध्यमहरूले चेन्नई निवासी कार्थी नामका युवकसँग सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत २१ वर्षीया छात्राको चिनजान भएको थियो । केही समयसम्म उनीहरूबीच नियमित संवाद भइरहे पनि युवतीले पछि युवकको पृष्ठभूमिबारे जानकारी संकलन गर्दा उनीविरुद्ध विभिन्न आपराधिक मुद्दा दर्ता रहेको तथ्य खुलेको थियो । युवतीले त्यसपछि कार्थीसँगको सम्पर्क पूर्णरूपमा बन्द गर्दै उनको प्रेम प्रस्ताव अस्वीकार गरेकी थिइन् । प्रहरीको प्रारम्भिक अनुसन्धानले यही विषयलाई लिएर युवक आक्रोशित भएका थिए । त्यसपछि उनले आफ्ना केही साथीहरूलाई साथमा लिएर युवतीको घर पुगेका र घरको मुख्य प्रवेशद्वारतर्फ पेट्रोल बम प्रहार गरेको आरोप छ ।



आक्रमणपछि आरोपीहरू घटनास्थलबाट फरार भएका थिए । घटनाका बेला घरभित्र रहेका परिवारका सदस्यहरू आतंकित बनेका भएपनि मानवीय क्षति भने नभएको भारतीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् । पेट्रोल बम प्रहारका कारण घरको बाहिरी भागमा क्षति पुगेको बताइएको छ ।
घटनापछि स्थानीय प्रहरीले सुरक्षा व्यवस्था कडा बनाउँदै घटनामा संलग्न व्यक्तिहरूको खोजी सुरु गरेको जनाएको छ ।



