नेपाल सरकारले २६ सामाजिक सञ्जाल बन्द गरेपनि प्रयोग रोकिएको छैन, बरु भीपीएनमार्फत प्रयोग अझै बढेको छ। साइबर ब्यूरोका अनुसार एकै दिनमै हजारौंले भीपीएन प्रयोग गरेका छन्, तर यो कानुनविपरीत मात्र नभई असुरक्षित पनि हो। डाटा चुहावटदेखि साइबर अपराध बढ्ने खतरा उच्च हुने विशेषज्ञ चेतावनी छ । भीपीएन के हो र किन जोखिमपूर्ण मानिन्छ ?

सरकारले सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेको दिनदेखि नै प्रयोगकर्ताले यसलाई चलाउने चोर बाटो अपनाउन थालेका छन् । इन्टरनेट सर्भिस प्रोभाइडरले सामाजिक सञ्जाललाई चलाउन नमिल्ने बनाएको बताएपनि अझै यो सञ्चालन भइरहेको छ । तर, अधिकांशले यो एप चलाउन भीपीएन प्रयोग गरिरहेका छन् । अझ कतिपयले त भीपीएन चलाएर सामाजिक सञ्जाल कसरी चलाउने भनेर सिकाइरेहका छन् । तर, जुन बाटो प्रयोगकर्ताले प्रयोग गरिरहेका छन्, त्यो आफैमा असुरक्षित छ भने झन् साइबर अपराधलाई निमन्त्रणा दिइरहेका छन् ।

के हो भीपीएन ?
९परिचय गोप्य राखेर इन्टरनेटलाई सुरक्षित सञ्जाल स्थापित गर्ने प्रविधि नै भीपीएन हो । खासगरी जुन वेबसाइटमा पहुँच पुर्‍याउन सकिँदैन त्यो वेबसाइटमा पहुँच पुर्‍याउनका लागि भीपीएन प्रयोग गरिन्छ । कुनै भीपीएन निःशुल्क त कुनै किनेर प्रयोग गर्न सकिन्छ । प्रयोगकर्ताले आफूले चाहेको वेबसाइट इन्टरनेट प्रदायकले बन्द गरेपनि निर्बाध प्रयोग गर्न सकिन्छ । सामान्यतया अनलाइन हुँदा प्रयोग गरिरहेको उपकरणबाट इन्टरनेट सेवा प्रदायकको माध्यम हुँदै इन्टरनेटको ठूलो सञ्जालमा जोडिन्छ। तर भीपीएनले अर्को एउटा कम्प्युटरमार्फत् इन्टरनेटको सञ्जालमा जोडिदिन्छ, यसले गर्दा परिचय गोप्य रहन्छ ।

कति सुरक्षित ?
भीपीएनको प्रयोग गर्दा चलाइरहेको नेटवर्कबाट चलाउनेको परिचय गोप्य त हुन्छ । तर, यसको टनेलबाट कुनै एपमा भीपीएन चल्दा विभिन्न डाटा असुरक्षित हुन जान्छ । भीपीएनलाई सुरक्षित रूपमा चलाउन मिल्ने भए पनि फेसबुकलगायतका सामाजिक सञ्जाल चलाइरहनु सुरक्षित तरिका चाहिँ होइन । यसले डिभाइसमा भएका अरू सामाजिक सञ्जाललाई असर पार्न सक्छ । मोबाइलका एपमा अनुमति दिँदा कतिपय व्यक्तित डाटा भीपएन कोडसँगै बाहिरिन्छन् । अहिले बन्द गरिएका सामाजिक सञ्जाल चलाउने लहडमा सुरक्षित भीपीएन कुन हो भन्ने भेउ नपाएकाहरू बढी असुरक्षित हुने सम्भावना छ ।

के छन् जोखिम ?
९अन्य सामाजिक सञ्जालका खाताहरू र ब्याङ्किङ सूचनाहरू चोरीको जोखिम हुन्छ । ई–बैंकिङ्ग, मोबाइल बैंकिङ्ग र इमेलमा ह्याकरले पहुँच पुर्‍ याउन सक्छन् । र डाटा चोरी हुन सक्छ । अहिले देखिएको साइबर अपराध थप मौलाउँदै जाने जोखिम हुन्छ । भीपीएनले सही लोकेसन हटाएर गोप्य राख्ने हुँदा भविष्यमा कुनै समस्या परेमा भीपीएनका कारण साइबर ब्यूरोलाई समाधान गर्न मुस्किल पर्छ । उदाहरणका लागि भीपीएन प्रयोगकर्ताको मोबाइल चोरी भएको खण्डमा यसको लोकेसन ट्र्याक गर्न गाह्रो हुन्छ । यसबारेमा राम्रो जानकारी भएकाले प्रयोग गर्दा त्यति समस्या नदेखिएपनि सरकारले गरेको प्रतिबन्धको आक्रोशमा लहडका भरमा भीपीएन प्रयोग गरेर सामाजिक सञ्जाल चलाउनु भनेको जानाजान जोखिम निम्त्याउनु हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय