सामाजिक सञ्जालमाथि सरकारले लगाएको प्रतिबन्ध र बढ्दो भ्रष्टाचारविरुद्ध जेनरेशन जेड ९जेनजी० पुस्ताले नेतृत्व गरेको शान्तिपूर्ण प्रदर्शन सोमबार तनावपूर्ण बनेको छ। संसद भवनतर्फ अगाडि बढ्न खोजेका प्रदर्शनकारीमाथि प्रहरीले अश्रुग्याँस प्रहार गरेको हो। माइतीघर मण्डलाबाट सुरु भएको प्रदर्शनले बानेश्वर क्षेत्रको निषेधाज्ञा तोड्दै अगाडि बढ्दा प्रहरीले रोक्ने प्रयास गरेको थियो। तर जेनजी युवाहरूले प्रहरीको ब्यारिकेड पार गर्दै नयाँबानेश्वर पुग्न सफल भए। स्थिति नियन्त्रणमा लिन प्रहरीले तिनकुने र संसद भवन अगाडि जम्मा भएका प्रदर्शनकारीमाथि अश्रुग्याँस प्रहार गरेको हो।

सरकारले पछिल्ला दिनमा केही सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाएको छ, जुन निर्णयविरुद्ध सामाजिक सञ्जालमै सशक्त प्रतिक्रिया आएको थियो। जेनजी पुस्ताका युवाहरूले यसलाई अभिव्यक्ति स्वतन्त्रतामाथिको अतिक्रमण भन्दै विरोध जनाउँदै आएका थिए। सोमबारको प्रदर्शनमा उनीहरूले हाम्रो आवाज बन्द हुँदैन सामाजिक सञ्जाल बन्द नगर, भ्रष्टाचार बन्द गर, लोकतन्त्रको गला नघोटू लगायतका नारा लगाउँदै संसद भवनसम्म मार्च गरेका थिए।

संसद भवन अगाडि भिडन्त

तीनकुने र माइतीघर दुवैतर्फबाट जुलुस अगाडि बढ्दा संसद भवनको गेट अगाडि ठूलो संख्यामा प्रदर्शनकारी जम्मा भएका थिए। त्यहाँ स्थिति केही तनावपूर्ण बनेपछि प्रहरीले अश्रुग्याँस प्रयोग गरेको हो। हालसम्म कुनै गम्भीर घाइते वा झडपको पुष्टि भइसकेको छैन।

शान्तिपूर्ण सुरुवात, दमनपूर्ण प्रतिक्रिया

जेनजी प्रदर्शनकारीहरूले आन्दोलन सुरु हुँदा नै सार्वजनिक सम्पत्ति नष्ट नगर्ने, हिंसा नगर्ने, र शान्तिपूर्ण ढंगले आफ्नो आवाज उठाउने प्रतिबद्धता जनाएका थिए। तर निषेधित क्षेत्रमा प्रवेश गरेको भन्दै प्रहरीले बल प्रयोग गर्दा आन्दोलनको स्वरूप नै बिग्रिने चिन्ता बढेको छ। सामाजिक सञ्जाल बन्द, भ्रष्टाचार, र अभिव्यक्ति स्वतन्त्रतामाथि उठेको प्रश्न जेनजी पुस्ताको यो आन्दोलनमार्फत अझ सशक्त बन्दै गएको छ। सरकार र सुरक्षाकर्मीले शान्तिपूर्ण प्रदर्शनप्रति दमनपूर्ण रवैया अपनाउने हो भने, आन्दोलन झन चर्किन सक्ने संकेत देखिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय