विराटनगर — नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले एक कर्मचारीको गल्तीका आधारमा मन्त्रीको राजीनामा माग्नु उपयुक्त नहुने टिप्पणी गरेका छन्।



शनिबार विराटनगरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने, “कुनै कार्यालयमा गल्ती भए त्यो सम्बन्धित कर्मचारीको जवाफदेही हुन्छ। तर, त्यही कारण देखाएर कार्यालय प्रमुख वा मन्त्रीले राजीनामा दिनुपर्छ भन्ने माग गरिएमा राज्य प्रणाली नै चल्न सक्दैन।”
हालै अध्यागमन विभागका सहसचिव प्रकाश भट्टराई मानव तस्करीसम्बन्धी आरोपमा पक्राउ परेपछि गृह मन्त्रालयमाथि सवाल उठेको छ। गृहमन्त्री रमेश लेखकको सचिवालय नै भिजिट भिसाको नाममा मानव तस्करीमा संलग्न रहेको आशंका सार्वजनिक भएपछि विपक्षी दलहरूले राजीनामाको माग गर्दै आएका छन्।
तर, सिटौलाको भनाइ अनुसार अहिले मन्त्रीमाथि सीधा संलग्नताको प्रमाण नआएको र केवल कर्मचारीस्तरमा अनुसन्धान भइरहेको अवस्थामा राजीनामा माग गर्नु पूर्वाग्रही हुने बताए।
यसअघि कांग्रेसकै अर्का नेता डा. शेखर कोइरालाले भने गृहमन्त्री लेखकलाई नैतिक जिम्मेवारी लिन सुझाव दिएका थिए।
यस प्रकरणले सत्तारूढ दलभित्रै पनि गृहमन्त्रीको भूमिकाबारे फरक धारणा देखिएको संकेत गरेको छ।



