सिड्नी- पश्चिमी सिड्नीको अर्बनमा कारको ठक्करबाट तीन वर्षीया बालिकाको मृत्यु भएपछि २७ वर्षीय नेपाली युवक सन्दीप अधिकारीविरुद्ध मुद्दा दायर गरिएको छ। लापरवाहीपूर्वक सवारी चलाएर ज्यान लिएको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको समाचार संस्था द अस्ट्रेलिया टुडे ले जनाएको छ। अधिकारी हालसम्म आरोप स्वीकार वा अस्वीकार नगरी मौन रहेका छन्। उनले अदालतमा आफ्नो पक्षबाट कुनै आधिकारिक प्रतिक्रिया दिएका छैनन्।
दुर्घटनास् मंगलबार दिउँसो करिब २ बजे अर्बनको नर्मनबी रोडस्थित एक घरको ड्राइभवेमा खेलिरहेकी बालिकालाई अधिकारीले चलाएको कारले ठक्कर दिएको थियो। आपत्कालीन टोलीले गम्भीर घाइते बालिकालाई तत्काल वेस्टमिड अस्पताल पुर्याएका थिए। तर, उपचारका क्रममा केही घण्टामै बालिकाको मृत्यु भयो। दुर्घटनामा अधिकारीलाई कुनै चोट लागेको थिएन। अनिवार्य स्वास्थ्य एवं मापसे परीक्षणपछि उनलाई अर्बन प्रहरी स्टेसन लगिएर मुद्दा दर्ता गरिएको थियो।



घटनाको २४ घण्टाभन्दा कम समयमै बुधबार अधिकारीलाई बर्वुड स्थानीय अदालतमा उपस्थित गराइएको थियो। अदालतबाट बाहिरिने क्रममा सञ्चारकर्मीको टोलीलाई देखेपछि उनले कागजको पानाले अनुहार छोप्ने प्रयास गरेका थिए।अधिकारीका वकिल ड्यानी इडले घटनालाई ‘अत्यन्तै दुःखद’ भन्दै आफ्ना ग्राहक निकै तनावमा रहेको र पीडित परिवारप्रति चिन्तित रहेको बताएका छन्। अधिकारी अहिले ससर्त धरौटीमा रिहा भएका छन्। उनलाई आगामी अक्टोबर २७ मा पुनः बर्वुड स्थानीय अदालतमा उपस्थित हुन आदेश दिइएको छ। अदालतमा मुद्दा विचाराधीन रहेकाले उनीमाथिको आरोप पुष्टि हुन बाँकी नै छ।



