पाल्पा – सिद्धार्थ राजमार्गको सिद्धबाबा क्षेत्रमा निर्माणाधीन सुरुङमार्गको भौतिक प्रगति ६५ प्रतिशत पुगेको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ दोभानस्थित आयोजनाअन्तर्गत मुख्य १ हजार १ सय २६ मिटर लम्बाइको सुरुङ खन्ने कार्य सम्पन्न भइसकेको छ भने हालसम्म आयोजनाको वित्तीय प्रगति ५६ प्रतिशत रहेको छ । आयोजनाअन्तर्गत तीन वटा बाइपास सुरुङको निर्माणसमेत पूरा भइसकेको छ । हाल पहुँच सडक निर्माण, भीर संरक्षण तथा रिटेनिङ वाल निर्माणको काम तीव्र रूपमा भइरहेको आयोजनाले जनाएको छ । करिब ७ अर्ब ३४ करोड २१ लाख रुपैयाँ लागतमा चिनियाँ कम्पनीद्वारा निर्माण भइरहेको यो सुरुङमार्ग २०८३ साल चैतभित्र सम्पन्न गर्ने लक्ष्यसहित सम्झौता गरिएको छ ।



मुख्य सुरुङमार्गबाट सवारी साधन सञ्चालनमा आएपछि मात्र पहिरो तथा ढुङ्गा खस्ने जोखिम न्यूनीकरणका लागि ७ सय ८० मिटर लामो ‘रक सेड’ निर्माण कार्य सुरु गरिनेछ । आइतबार ऊर्जा, जलस्रोत तथा सिँचाइ एवं भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री कुलमान घिसिङले निर्माणस्थलको स्थलगत अनुगमन गर्दै निर्माण कार्यलाई अझ तीव्रता दिन निर्देशन दिनुभएको थियो ।नेपाल सरकारको आफ्नै स्रोतबाट निर्माण भइरहेको यो सुरुङमार्ग सञ्चालनमा आएपछि सिद्धबाबा क्षेत्रमा वर्षेनि हुने पहिरो र ढुङ्गा खस्ने समस्याबाट यात्रुले स्थायी राहत पाउने विश्वास गरिएको छ ।



