काठमाडौं । चन्द्रागिरि नगरपालिका–७ मा रहेको सिद्धिखर बहुउद्देश्यीय सहकारी संस्था लि. ले आफ्नो स्थापनाको ९ वर्ष पूरा गरी १०औँ वर्षमा प्रवेश गरेको अवसरमा शनिबार वार्षिकोत्सव मनाएको छ ।



संस्थाका अध्यक्ष श्रीराम लामिछानेले सहकारीको सफल यात्रामा साथ दिने सम्पूर्ण शेयर सदस्य, कर्मचारी, शुभेच्छुक तथा स्थानीय समुदायप्रति धन्यवाद व्यक्त गर्नुभयो । उहाँले सहकारीलाई आगामी दिनमा अझ परिस्कृत, पारदर्शी, उत्तरदायी र विश्वसनीय संस्थाका रूपमा विकास गर्दै लैजाने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो । अध्यक्ष लामिछानेले सहकारीको १० वर्षे यात्रा चुनौती र अवसरसँगै अघि बढेको उल्लेख गर्दै सदस्यहरूको विश्वास र एकताकै कारण संस्था आजको अवस्थामा आइपुगेको बताउनुभयो । उहाँले सहकारीले केवल आर्थिक कारोबारमा सीमित नरही सामाजिक उत्तरदायित्वलाई समेत प्राथमिकतामा राखेर काम गर्दै आएको धारणा राख्नुभयो ।“सदस्यहरूको विश्वास नै हाम्रो सबैभन्दा ठूलो पूँजी हो । आगामी दिनमा अझ प्रभावकारी सेवा, आधुनिक व्यवस्थापन र सदस्यमैत्री योजनासहित अघि बढ्नेछौं,” अध्यक्ष लामिछानेले भन्नुभयो ।

कार्यक्रममा संस्थाका संस्थापक शेयर सदस्यहरूले सहकारी स्थापना गर्दाका प्रारम्भिक दिनहरूको स्मरण गर्दै सीमित स्रोत र चुनौतीबीच सुरु गरिएको संस्था आज १०औँ वर्षमा प्रवेश गर्नु गर्वको विषय भएको बताएका थिए । उनीहरूले सहकारीको निरन्तर प्रगति सदस्यहरूको एकता, पारदर्शिता र सामूहिक प्रतिबद्धताका कारण सम्भव भएको उल्लेख गरे ।

सहभागीहरूले सहकारीले स्थानीय स्तरमा आर्थिक सशक्तीकरण, बचतको संस्कार विकास तथा सदस्यहरूको जीवनस्तर उकास्न महत्त्वपूर्ण भूमिका खेलेको धारणा राखेका थिए ।
कार्यक्रममा संस्थाको १० वर्षे यात्राको समीक्षा गर्दै प्रविधिमैत्री सेवा विस्तार, सदस्यहरूको क्षमता अभिवृद्धि, स्वरोजगार प्रवद्र्धन तथा सामाजिक गतिविधिलाई अझ प्रभावकारी बनाउने लक्ष्य लिएको जनाएको छ । विगत एक दशकदेखि सहकारीले बचत तथा ऋण सेवा, वित्तीय सचेतना, सामाजिक सहयोग तथा समुदाय केन्द्रित विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ । स्थानीय समुदायमा विश्वासिलो सहकारी संस्थाका रूपमा आफ्नो पहिचान बनाउन सफल भएको संस्थाले जनाएको छ । वार्षिकोत्सव कार्यक्रममा सहभागीहरूले संस्थाको आगामी यात्राका लागि शुभकामना व्यक्त गर्दै सहकारी क्षेत्रलाई अझ व्यवस्थित, अनुशासित र सदस्य केन्द्रित बनाउन आवश्यक रहेको धारणा राखेका थिए ।

कार्यक्रममा सञ्चालक समिति सदस्य, सल्लाहकार, लेखा समिति, विभिन्न उपसमिति सदस्य तथा शेयर सदस्यहरूको सहभागिता रहेको थियो ।



