काठमाडौं । सिन्धुपाल्चोकका किसान ‘ड्रागन फ्रुट’ खेतीतर्फ आकर्षित भएका छन् । वर्षमा दुई पटक फल दिने र खेती गर्न पनि सहज हुने भएपछि पछिल्लो समय ड्रागन फ्रुट’ खेतीतर्फ आकर्षण बढ्दै गएको छ ।
सुक्खा ठाउँमा खेती गर्न सकिने, खेती गरिएको जमीनभित्र अग्ला नहुने विभिन्न जातका फलफूल, अदुवा बेसार, लसुन प्याजलगायत सागसब्जी पनि उत्पादन गर्न सकिने र आम्दानी पनि राम्रै हुने भएपछि ड्रागन फ्रुट’ खेतीतर्फ यहाँका किसानको आकर्षण बढेको हो ।



एकपटक लगाएको विरुवाबाट वर्षौंसम्म आम्दानी लिन सकिने, सजिलो खेती प्रविधि र राम्रो बजार मूल्य भएकाले परम्परागत खेती छोडेर त्यहाँका किसान व्यावसायिक ड्रागनफ्रुट खेतीतर्फ जुटेका छन् । यसले सिन्धुपाल्चोकमा व्यावसायिक कृषि विस्तारको नयाँ सम्भावना पनि देखिएको छ ।
खेती गर्न सजिलो, फल स्वादिलो तथा पोषिलो हुनाका साथै बजार मूल्यमा पनि समस्या नभएपछि ड्रागनफ्रुट व्यवसायमा किसानको आकर्षण बढ्दै गएको हो । बजारमा ड्रागनफ्रुट प्रतिकिलो ६५० देखि ८५० सम्ममा किन्न पाइन्छ ।
कृषि प्राविधिकले पनि ड्रागन फ्रुट खेतीका लागि सिन्धुपाल्चोकको हावापानी उपर्युक्त भएको जनाएका छन् । यो खेती एकपटक लगाएपछि १५–२० वर्षसम्म फल दिने, कम सिँचाइ र कम मलको आवश्यकता हुने तथा बजार मूल्य उच्च हुने भएकाले किसानहरुका लागि यो खेती लाभदायक मानिन्छ ।



