
जिल्ला प्रशासन कार्यालय सिन्धुलीले भारी वर्षा र बाढी–पहिरोको उच्च जोखिमका कारण सवारी साधनको आवागमनमा अस्थायी निषेध गरेको छ।



राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको उच्च सतर्कता सूचना अनुसार कात्तिक १३ र १४ गतेसम्म देशका विभिन्न भागमा भारी वर्षा हुने पूर्वानुमान गरिएको छ। सोही सन्दर्भमा सिन्धुली जिल्ला बाढी–पहिरोको उच्च जोखिममा रहेको भन्दै प्रशासनले विशेष सावधानी अपनाउन अनुरोध गरेको हो।
प्रशासनले जानकारी अनुसार, मिति २०८२। ७।१३गते साँझ ५ बजे बिहान ६ बजे सम्मका लागि वि.पी. राजमार्गको खुर्कोट बजारदेखि काठमाडौँतर्फ सवारी साधन आवागमनमा निषेध गरिएको छ। साथै, दिउँसोको समयमा पनि भारी वर्षा भएमा सुरक्षाकर्मीले सुरक्षाको दृष्टिकोणले सवारी साधन रोक्न सक्ने चेतावनी दिएको छ।
प्रमुख जिल्ला अधिकारीको तर्फबाट सहायक प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीले जारी गरेको सूचनामा भनिएको छ— “संभावित मानवीय र भौतिक क्षति रोकथामका लागि निर्धारित समयमा राजमार्गमा सवारी नचलाउन र अत्यावश्यक यात्रामा समेत सतर्कता अपनाउन सबैलाई अनुरोध गर्दछौं।”



