सिरहा जिल्लाको विष्णुपुर गाउँपालिकाकी उपाध्यक्ष गीता कुमारी सिंहले पालिकाको सरकारी स्कारपियो गाडी तोडफोड गरेकी छिन्। पालिकाको बा २ झ ३६४३ नम्बरको स्कारपियो गाडी समयमा लिन नआएको भन्दै उपाध्यक्ष सिंहले इटा र ढुंगाले गाडीको झ्याल, ढोकाको सिसा, र अन्य भागमा क्षति पुर्याएको घटना सार्वजनिक भएको हो।



गाडीका चालक बाबुनाथ यादवका अनुसार, उपाध्यक्ष सिंहले रिसको झोंकमा गाडीमाथि आक्रमण गरिन्। सिसा फुटाउनुका साथै गाडीका विभिन्न भाग कुच्याइएको यादवले बताए।
उपाध्यक्ष सिंहको दाबी
घटनाबारे उपाध्यक्ष सिंहले भने गाडी समयमै उपलब्ध नगराइने र अध्यक्षले गाडी मनोमानी ढंगले चलाउने आरोप लगाइन्। उनका अनुसार, कार्यक्रममा जाँदा चालकलाई बोलाउँदा, “अध्यक्षको अनुमति बिना जाँदैन” भन्ने जवाफ पाएपछि उनी आक्रोशित भएकी थिइन्।
स्थिति विवादास्पद
यो घटना गाउँपालिकाभित्रको आन्तरिक द्वन्द्वको संकेत हो। उपाध्यक्ष र अध्यक्षबीच गाडीको प्रयोग र अधिकारको विषयमा लामो समयदेखि असमझदारी रहेको बताइएको छ।
पालिकाले सरकारी सम्पत्तिमा क्षति पुर्याउने यस प्रकारको घटनाको छानबिन गर्ने र आवश्यक कारबाही गर्ने बताएको छ। गाउँपालिका जनप्रतिनिधिबीचको विवादले सार्वजनिक पदधारणको मर्यादामा प्रश्न उठाएको छ।



