पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका-१० जवाङ खोलामा सुक्खा पहिरो खसेपछि मुग्लिन-काठमाडौं सडकखण्ड अवरुद्ध भएको छ । पहिरो पन्छाउन आज दिनभर लाग्ने अनुमान गरिएको छ । नागढुंगा-मुग्लिन सडक योजना कार्यालय पश्चिम खण्डका प्रमुख केदार नेपालले पहिरो ठूलो भएकाले पन्छाउन दिनभर लाग्ने बताए । आज दिनभर सवारी साधन सञ्चालन हुने सम्भावना कम रहेको उनको भनाइ छ । गएराति खसेको पहिरो पन्छाएर एकतर्फी सडक सञ्चालन गरिएको थियो ।
तर राति नै फेरि ठूलो पहिरो झरेपछि सडक दुईतर्फी नै बन्द भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । रातिदेखि नै सडक बन्द भएकाले यात्रुहरु बाटोमा अलपत्र परेका छन् । उनीहरुलाई सुरक्षित ठाउँमा रहन र लेन अनुशासन पालना गरेर प्रतीक्षा गर्न प्रहरीले भनेको छ । उता पहिरोकै कारण मुग्लिन-नारायणगढ सडक फेरि अवरुद्ध भएको छ । तीन दिन लगाएर हटाएको पहिरो खसेकै ठाउँमा आज बिहान फेरि पहिरो झरेको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ । यसअघि गत शुक्रबार खसेको पहिरोले ४० घण्टासम्म बाटो बन्द भएको थियो ।






