काठमाडौं । सुनचाँदीको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । आज सुनको मूल्य तोलामा ४ हजार १ सयले बढेर प्रतितोला २ लाख ७४ हजार ७ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायीले जनाएको छ । हिजो सुनको मूल्य तोलाको २ लाख ७० हजार ६ सय रुपैयाँ थियो ।



चाँदीको मूल्य पनि २०५ रुपैयाँले बढेर प्रतितोला ५ हजार १९५ रुपैयाँ पुगेको छ । हिजो चाँदी प्रतितोला ४ हजार ९९० रुपैयाँमा कारोबार भएको थियो ।
अन्तर्राष्ट्रिय बजारमै सुन र चाँदीको मूल्यले नयाँ रेकर्ड बनाएपछि नेपाली बजारमा प्रभाव देखिएको हो । अन्तर्राष्ट्रिय बजारमा सुन र चाँदी महँगिनुको कारण अमेरिकाले निम्त्याएको विश्वव्यापी तनाव रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघका प्रथम उपाध्यक्ष धर्मसुन्दर बज्राचार्यले बताउनुभयो । उहाँले अन्तर्राष्ट्रिय तनाव वा द्वन्द्व बढ्दा सुनचाँदीको मूल्य पनि बढ्ने बताउनुभयो ।



