सामाजिक सञ्जालमा धार्मिक तथा सामाजिक सद्भाव भड्किने खालका गतिविधि बढेको भन्दै जिल्ला प्रशासन कार्यालय सुनसरीले जारी गरेको निषेधाज्ञाले धरानको जनजीवन प्रभावित बनेको छ ।
निषेधाज्ञाका कारण बजार सुनसान रहेको छ भने प्रहरीले चेकपोष्टहरुमा कडाई गरेको छ । अप्रिय घट्ना नघटोस् भनेर सशस्त्र प्रहरी, जनपथ प्रहरीलगायतका सुरक्षा टोली खटाइएको छ । कफ्र्युकै कारण सधै व्यस्त रहने धरान २ भानुचौक सुनसान रहेको छ । कोशी पहाडी क्षेत्र चल्ने सवारी साधन चलेका छैनन् । सधै खचाखच भइरहने पूर्व–पश्चिम जाने यात्रुबाहक बसहरु समेत बसपार्कमा नहुँदा सुनसान छन् । बजार पसल पनि आंशिक रुपमा खुल्ला रहेका छन् । कोशी पहाडी क्षेत्रबाट आउने मुख्यद्वार धरान १३, वेसक्याम्प, धरान इटहरी छिर्ने नाका धरान ८ तीनकुने चेकपोष्ट तथा सेउती पुलमा सुरक्षा गस्ती खटिएका छन् ।



इटहरीबाट आउने सवारी साधन तथा धरानबाट इटहरीतर्फ जाने सवारी साधनलाई तीनकुने चेकपोष्टमा खटिएका सुरक्षाकर्मीले कडा चेकजाँच पश्चातमात्र छोडिदिने गरेको छ । निजी सवारी साधन लिएर हिडेका सर्वसाधारणलाई तीनकुने चेकपोष्टमा राखेर काम विशेषबाहेक जान नदिने, गएका सवारी साधनको नम्बर नोट गर्ने काम सुरक्षाकर्मीहरुले गरेका छन् ।
कुनै अप्रिय घट्ना घटन नदिनका लागि सुरक्षाकर्मी तैनाथ बनाइएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी नवराज मल्लले जानकारी दिनुभयो । धरान २ बालगोपाल अगाडि विना स्वीकृत बनाइएको चर्चा र धरान ११ मंगलबारे चौकको सार्वजनिक स्थलमा गोरु काटेर खाएको घट्नाले उग्ररुप लिएपछि हिन्दु सनातन धर्मालम्बीहरुले धरानमा शनिवार ‘गोरक्षा शान्ति र्याली’को आयोजना गर्ने कार्यक्रम तय गरेका थिए ।
समग्र वैदिक सनातन समुदाय, श्रीवैष्णव परिषद् नेपाल, विश्व हिन्दु परिषद् नेपाल, हिन्दु जागरण नेपाल, वैदिक कर्मकाण्ड परिषद्, विश्व हिन्दु महासंघ, शिवसेना नेपाललगायत संघ–संस्थाले ‘स्वधर्म गोरक्षा शान्ति र्याली’ आयोजना गर्ने तयारी गरेका थिए । हिँसा भड्किने सक्ने भन्दै धरानेहरुले सदियौंदेखिको सद्भाव कायम राख्न र भड्किन नहुने सन्देश प्रवाह गर्दै शुक्रबार धरानमा सद्भाव र्यालीको आयोजना गरेका थिए । यद्यपि तय गरिएको कार्यक्रम गर्ने आयोजक हिन्दु’ जागरण अभियान नेपालका एक सदस्यले बताएका छन् ।



