जिल्ला अदालत काभ्रेपलाञ्चोकमा उपस्थित भएका खगेन्द्र सुनारको जिल्ला अदालत काभ्रेमा बयान र थुनछेकको बहस सकिएको छ । तर आदेश आउन बाँकी छ ।



अदालतको अपहेलना र अधिवक्तालाई अपशब्द बोलेको आरोपमा विद्युतीय कारोबारको आरोप लागेर पक्राउ गर्न पुर्जी जारी भएका सुनार विहिबार विहान काभ्रेपलाञ्चोक जिल्ला अदालतमा उपस्थित भएका थिए । सुनारको न्यायाधीश नगेन्द्रकुमार कालाखेतीको इजलासमा बयान र थुनछेकको बहस भएको जिल्ला अदालत काभ्रेपलाञ्चोकका श्रेस्तेदार इन्दिरा कार्कीले जानकारी दिईन ।
अधिवक्ता मनीषा गौतमविरुद्ध अपशब्द प्रयोग गर्दै फेसबुक स्टाटस लेखेको, सामाजिक संजालमा लाईभ बसेर गालीगलोज गरेको आरोपमा गौतमले साइबर ब्यूरोमा उजूरी दिएकी थिइन । गौतमको स्थायी ठेगाना काभ्रेपलाञ्चोक भएकोले ब्यूरोले उक्त मुद्धालाई जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोक पठाएको थियो । अनुसन्धानका क्रममा सुनार फरार रहेकोकोले प्रहरीले फरार राखेर गत साउन २ गते अदालतमा मुद्दा पेश गरेको थियो । जिल्ला अदालतमा ८२ सालको श्रावणमा दोस्रो मुद्दाको रुपमा दर्ता भएको (८२ सी१–००२ नम्बर) को मुद्दा सरकारवादी फौजदारीको रुपमा दर्ता भएको थियो।
त्यसको तीन दिन पछाडि साउन ५ गते सुनारलाई पक्राउको लागि जिल्ला अदालतले सुनारको स्थायी ठेगाना भएको प्रहरी कार्यालय दैलेखमा पक्राउ गर्न पुर्जी जारी गरेको थियो । अदालतका श्रेस्तेदार कार्कीका अनुसार गत साउन ५ गते ७ दिन र ३५ दिन म्याद राखेर पक्राउ पुर्जी जारी गरेको थियो ।



