राष्ट्रिय सभाका सदस्य वामदेव गौतमले सुन तस्करीमा उच्च स्तरीय समिति गठन गरेमा छानबिन ओझेलमा पर्ने बताएका छन् । आज राष्ट्रिय सभा बैठकमा उनले उच्च स्तरीय समिति गठन गरिएपछि प्रधानमन्त्रीलाई समेत छानबिनमा तान्नुपर्ने माग उठ्ने र त्यसले गर्दा नयाँ सरकार गठनमा लाग्ने भएकाले छानबिन नै ओझेलमा पर्ने बताएका हुन । पूर्वगृहमन्त्री समेत रहेका गौतमले अन्तरदेशीय गिरोहको सेटिङमा सुन तस्करी भएको कुराको छानबिन हुनुपर्ने पनि बताए ।



सदस्य गौतमले समिति निर्माणको कार्यादेश र क्षेत्राधिकार लगायतका विषयले समितिले कामै गर्न नसक्ने जिकिर गरे । उच्चस्तरीय छानबिन समिति गठन गरिए अहिले भइरहेको अनुसन्धान र छानबिन अघि बढ्नसक्ने स्थिति नरहने उनको भनाइ छ । उच्चस्तरीय छानविनको नाममा सरकार परिवर्तन गर्नुपर्ने भए अविश्वासको प्रस्ताव ल्याउन पनि गौतमले एमालेलाई सुझाव दिए ।



