काठमाडौं । त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट करिब एक क्वीन्टल सुन तस्करी घटनामा संलग्न छ जनालाई पक्राउ गरिएको छ । सुन तस्करीमा संलग्नताको आरोपमा भन्सार एजेन्टसहित छ जनालाई पक्राउ गरिएको हो । थप व्यक्तिको पनि सग्लनता हुनसक्ने भन्दै थप अनुसन्धान जारी रहेको राजश्व अनुसन्धान विभागले जनाएको छ ।




विभागका अनुसार ‘ब्रेक सु’ आयातकर्ता कम्पनी रेडि ट्रेड कम्पनीका सञ्चालक दिलिप भुजेललाई पक्राउ गरेको छ । साथै ट्याक्सी चालक अशोक लामा र भन्सार एजेन्ट राजेन्द्रकुमार राईसमेत पक्राउ परेका छन् । साथै तस्करीमा संलग्न हर्कराज राई, राजकुमार भुजेल र थुक्मीङ छिरिङलाई पनि पक्राउ गरिएको छ । तीन सय २० पिस ‘ब्रेक सु’ विभागले जफत गरेको छ । हङकङबाट ल्याएर अन्तर्राष्ट्रिय विमानस्थल भन्सारसमेत पार गरेर सिनामंगल सडकसम्म पु¥याइएको करिब एक क्विन्टल सुन हिजो राजस्व अनुसन्धान विभागको टोलीले बरामद गरेको हो । मंगलबार राति १० बजे हङकङबाट आएको क्याथे प्यासेफिकको उडानमा स्कुटरको ‘ब्रेक सु’ को आवरणमा सुन ल्याइएको थियो । बुढानीलकण्ठ ठेगाना उल्लेख गरिएको ‘रेडी ट्रेडर्स प्रालि’का नाममा विमानस्थल भन्सारले जाँचपास हुन लागेको सामान सूचनाका आधारमा राजस्व अनुसन्धान विभागको टोलीले सुन बरामद गरेको हो । नेपालमा एकै पटक यति धेरै सुन बरामद भएको सम्भवत यो पहिलो घटना हो । यसअघि ०७४ भदौमा चिनियाँ तस्करले भित्र्याएको ८८ केजी सुनसहित काठमाडौंको क्षेत्रपाटीबाट गाडी चालक पक्राउ परेका थिए ।

उता दीपक मल्होत्राले बरामद गरिएको सुन आफ्नो नभएको भन्दै पत्रकार सम्मेलन गरेका छन् । व्यवसायी दीपक मल्होत्राले बुधबार त्रिभुवन विमास्थलबाट बरामद् भएको सुन आफूले नल्याएको बताएका छन् । बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर मल्होत्राले बरामद भएको सुनमा आफ्नो कुनै सम्बन्ध नरहेको बताएका हुन् । व्यवसायी मल्होत्राले आफू कुनै अवैध धन्दामा संलग्न नरहेको र त्यसबारे सोच्दा पनि नसोचेको बताए ।

मल्होत्राले आफू र आफ्नो परिवारले गरेको कारोबारको कर कानुन बमोजिम सरकारलाई तिरिरहेको दाबी समेत गरेका छन् । मल्होत्राले सुन ल्याउने गिरोहलाई बचाउनका लागि नियोजित रुपमा आफ्नो नाम जोडिएको दाबी गर्नुभयो । उनले केही मिडियाले आफ्नो नाम जोडेर भ्रम फैलाउन खोजेको भन्दै कानूनी बाटो खोज्ने चेतावनी दिएका छन् ।



