सरकारले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउँदा भइरहेको अनुसन्धान प्रभावित हुने बताएको छ । आज मन्त्रीपरिषद् बैठकका निर्णय सार्वजनिकपछि सञ्चारकर्मीहरुले सोधेको प्रश्नको जवाफ दिँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारकी प्रवक्ता रेखा शर्माले सरकारी निकायबाट नै भइरहेको अनुसन्धानलाई उच्चस्तरी समिति बनाएर प्रभावित बनाउनु नहुने बताएकी हुन ।



मन्त्री शर्माले प्रधानमन्त्री कार्यालय अन्तर्गतको राजश्व अनुसन्धान विभागले अहिले अनुसन्धान गरिरहेको र सरकारले गम्भीरताका साथ लिएको भन्दै अहिले पुनः अर्को समिति बनाएर अनुसन्धानलाई डाइभर्ट गर्न खोजिएको आरोप लगाइन ।
मन्त्री शर्माले ३३ किलो सुन प्रकरणमा पनि उच्चस्तरीय छानबिन समिति नबनेको र अरु बेलामा पनि नबनेको भन्दै अर्को समिति बनाउँदा अनुसन्धान प्रभावित हुने समेत दाबी गरिन । केही दिनभित्र सुन तस्करी प्रकरणमा कुरा मिलेपछि संसदको अवरोध हट्ने उनको भनाइ छ ।



