नागरिकको शान्ति सुरक्षाका लागि खटिएका प्रहरी आफै असुरक्षित छन् । बागलुङ जिल्ला प्रवेशद्वार मालढुङ्गा प्रहरी चौकीका प्रहरी आफै असुरक्षित छन् । मसानघाटमा बस्दै आएका प्रहरी न राम्रोसँग निदाउन सक्छन्, न राम्रोसँग खाना खाननै । चौबीसै घण्टा खटिने प्रहरीसँग अरूको सुरक्षा गर्ने जिम्मेवारी छ । तर उनीहरू आफैं सुरक्षित छैनन् । दुई वर्षदेखि प्रहरी चौकी कालीगण्डकी नदी किनारमा मलामी बस्न बनाइएको टहरोमा सञ्चालन भइरहेको छ । उर्लिएको कालीगण्डकीको किनारमा बसेर उनीहरूले सवारी जाँचदेखि अपराध नियन्त्रणसम्मको जिम्मेवारी निभाइरहेका छन् ।
अघिल्लो आर्थिक वर्ष बागलुङ नगरपालिकाले मालढुंगामा १० लाख रुपैयाँ खर्चेर सार्वजनिक शौचालय बनायो । शौचालय बनाउन आडैमा रहेको प्रहरी चौकीको छाप्रो भत्काइयो । त्यसपछि प्रहरीका लागि नयाँ भवन बन्ने अपेक्षा थियो । तर दुई वर्ष बितिसक्दा पनि नयाँ भवन बनेन । अहिले प्रहरी चौकी मसानघाटबाट सञ्चालन भइरहेको छ ।जिल्लाको प्रवेशद्वारमा रहेको यही चौकीबाट मध्यपहाडी लोकमार्ग र कालीगण्डकी करिडोर हुँदै आवतजावत गर्ने सयौं सवारीको निगरानी हुन्छ । तर सुरक्षा दिने प्रहरी आफैं अस्थायी टहरोमा बस्न बाध्य छन् । बागलुङ नगरपालिकाले भवन निर्माण गरि दिने सर्तमा प्रहरी चौकीको टहरा भत्काएर शौचालय बनाएपछि प्रहरी मसानघाटमा बस्न बाध्य भएका हुन् ।



मसानघाटमा दैनिक चार–पाँच वटा शव दाहसंस्कारका लागि ल्याइने भएकाले मलामीलाई ओत लाग्ने उद्देश्यले बनाइएको पाटी अहिले प्रहरी चौकी बनेको छ । थोत्रा जस्तापाताले बारेर बनाइएको टहरोमा प्रहरी बसिरहेका छन् । सडकछेउको एउटा घुम्तीमा उभिएर ट्राफिक प्रहरीले सवारी जाँच र कागजात परीक्षण गर्छन् । उर्लिएको कालीगण्डकीको बहाव र आवाजले चौकीभित्र बोलेको कुरा समेत राम्ररी सुनिँदैन । नदीको कटानको जोखिम पनि उत्तिकै छ ।
प्रहरी चौकी मालढुंगामा ट्राफिक चेकपोस्टसहित १५ जनाको दरबन्दी छ । चौबीसै घण्टा सञ्चालन हुने यो चौकी मध्यपहाडी लोकमार्ग र कालीगण्डकी करिडोरको संगमस्थल भएकाले निकै व्यस्त मानिन्छ । दैनिक सयौं सवारीको अभिलेख राख्ने, जाँच गर्ने, शंकास्पद सवारी र व्यक्तिमाथि निगरानी गर्ने काम यहीँबाट हुन्छ ।प्रहरी नायब निरीक्षकको नेतृत्वमा रहेका प्रहरीहरू घाटमै खाना पकाएर खाने र सुत्ने गर्छन् । हावाहुरी आउँदा पहिलेको छाप्रोका जस्तापाता उडाउने समस्या छ । प्रहरी चौकी निर्माणका लागि हालै केही प्रयास हुन थालेको पाइन्छ ।
प्रहरीले रजिस्टर, अभिलेख र बरामद सामग्री सुरक्षित राख्नसमेत कठिनाइ छ । हाल प्रहरी बसेको स्थान कालीका गुठी र लक्ष्मीनारायण गुठीको जग्गाभित्र पर्छ । सरोकारवाला निकायले अन्य संघ संस्थासँग समन्वय गरेरै भए पनि प्रहरीलाई गतिलो ओत लाग्ने भवन बनाउन जरुरी छ ।



