बजारमा खाना पकाउने एलपीजी ग्यासको आपूर्ति सहज बनाउन सरकारले सुरक्षा निकायलाई समेत ग्यास बिक्री वितरणको अनुमति दिने तयारी गरेको छ। बजारमा असहज परिस्थिति उत्पन्न हुँदा आपूर्ति व्यवस्थापनलाई चुस्त राख्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले सुरक्षा निकायका आउटलेटबाट समेत ग्यास बिक्री गर्ने व्यवस्था मिलाउन लागेको हो। मन्त्रालयका सचिव रुद्रसिंह तामाङले आपूर्ति व्यवस्थापनमा समस्या आउन सक्ने अवस्थालाई मध्यनजर गर्दै सुरक्षा निकायलाई पनि एलपीजी ग्यास बिक्री वितरण गर्न अनुमति दिने तयारी भइरहेको जानकारी दिनुभयो।

विकास, आर्थिक मामिला तथा सुशासन समितिले शुक्रबार आयोजना गरेको ‘दैनिक उपभोग्य वस्तुको सहज आपूर्ति व्यवस्थापन र अनुगमन’ विषयक कार्यक्रममा सचिव तामाङले ग्यास वितरणमा असहज अवस्था आए सुरक्षा निकायमार्फत समेत बिक्री वितरण गर्न सकिने गरी आवश्यक तयारी भइरहेको बताउनुभयो। उहाँका अनुसार नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बललगायतका सुरक्षा निकायले अहिले पनि पेट्रोलियम पदार्थ बिक्री वितरण गर्दै आएका छन्। त्यही संरचनालाई प्रयोग गरेर ग्यास बिक्री वितरण गर्न सके आपूर्ति व्यवस्थापन थप सहज हुने मन्त्रालयको अपेक्षा छ।

सचिव तामाङले पेट्रोलियम पदार्थ बिक्री गर्ने सुरक्षा निकायका आउटलेटमा कम्तीमा एक–दुई वटा ग्यास बिक्री केन्द्रसमेत सञ्चालन गर्न सकिने व्यवस्था मिलाउन लागिएको बताउनुभयो। बजारमा सम्भावित ग्यास अभाव हुन नदिन वैकल्पिक आपूर्ति व्यवस्थापनको तयारी आवश्यक रहेको भन्दै मन्त्रालयले त्यसैअनुसार सुरक्षा निकायलाई समेत बिक्री वितरणमा जोड्ने तयारी गरेको हो।

सरकारले सम्भावित अभाव वा आपत्कालीन अवस्थामा उपभोक्तालाई खाना पकाउने ग्यासको आपूर्ति सहज बनाउन वैकल्पिक वितरण प्रणाली विकास गर्न लागेको हो। सुरक्षा निकायका आउटलेटबाट समेत ग्यास बिक्री सुरु भएमा बजारमा आपूर्ति अवरुद्ध भएको अवस्थामा उपभोक्तालाई केही हदसम्म राहत पुग्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय