काठमाडौं । चन्द्रागिरि नगरपालिकाले नगरमा एकीकृत खानेपानी तथा सरसफाई व्यवस्थापन ऐन २०८० सर्वसम्मतले पारित गरेसँगै नगरभित्रका नयाँ खानेपानी स्रोत खोजी गर्न थालेको छ ।

नागढुङ्गा–सिस्नेखोला सुरुङ मार्ग आयोजनामा पानीको नयाँ मुल भेटिएसँगै नगरले पानी व्यवस्थापनको लागि मुहानको अनुगमन गरेको हो । सोही क्रममा सुरुङ मार्गको दुबै तर्फको प्रवेशद्वारमा देखिएको पानीको अवलोकन गरिएको थियो । एक महिना अघिको तथ्यांकअनुसार पश्चिमी टनेलबाट प्रतिसेकेण्ड १४ दशमलव ९२ लिटर पानी आएको र पूर्वतर्फको टनेलबाट १७ दशमलव ८७ लिटर पानी आएको छ । समग्रमा भन्ने हो भने प्रतिसेकण्ड ५० लिटर पानी आएको रेकर्डमा उल्लेख गरिएको छ ।

निरीक्षणका क्रममा चन्द्रागिरि नगरपालिका मेयर घनश्याम गिरीले नगरभित्रको मुहानहरु सुक्ने क्रममा रहेपनि सुरुङमार्ग निर्माणको क्रममा नयाँ मुहान भेटिएकोले सो पानीको व्यवस्थापन चाँडो भन्दा चाडो गर्ने बताउनु भयो । उहाँले सुरुङ मार्गलाई पूर्वाधार निर्माण र प्रशासनीक क्षेत्रको लागि चाहिने आवश्यक पानी बाहेक अन्य पानी लिफ्टिङ गरेर लैजाने बताउनु भयो ।

मेयर गिरीले दैनिक ३० लाख पानी यहाँबाट आउने हुँदा आयोजनासँग समन्वय गरेर अघि बढिरहेको बताउनु भयो । उहाँले पानी व्यवस्थापनको लागि दुई पक्षबीच सम्झौताको तयारी भइरहेको पनि बताउनु भयो । मेयर गिरीले पानीको समस्या भोगिरहेका नगरबासीलाई पर्याप्त मात्रामा पानी पुर्याउने लक्ष्य रहेको बताउनु भयो ।

यसैबीच, नागढुंगा–सिस्नेखोला सुरुङ मार्गको काम अहिलेसम्म ९० प्रतिशत सम्पन्न भइसकेको छ । आयोजनाको भौतिक प्रगति भने ७५ प्रतिशत सकिएको सुरुङ मार्ग आयोजनाले जनाएको छ । सुरुङमार्गको मुख्य टनेल करिब ४ सय मिटर र रेस्क्यु टनेल ४ मिटर मात्रै खन्न बाँकी रहेकोले अबको केही महिनामै सुरुङ मार्गको ब्रेक थ्रु हुने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय