सुर्खेतको वीरेन्द्रनगरमा छुट्टा छुट्टै दुइ स्थानमा घण्टाघर नजिक रहेको उषा बालबाटिका सेकेण्डरी स्कुलको छात्राबासमा ८ बर्षीय बालक शंकास्पद अवस्थामा मृत भेटिएको र मुलपानी चोकमा मोटरसाइकलको ठक्करपछि बालकको मृत्यु भएपछि उत्पन्न तनाव अझै शान्त भएको छैन । आफन्तहरुले घटना शंकास्पद रहेको भन्दै दोषीलाई कारबाहीको माग गर्दै आज पनि दिनभर प्रदर्शन गरेका हुन । पीडितका आफन्तले सडक अबरुद्ध गर्दै जिल्ला प्रशासन अगाडी घटनाको छानविनको माग गर्दै प्रदर्शन गरेका हुन ।
प्रहरीका अनुसार मृत भेटिएका बालक दैलेखको चामुण्डाविन्द्रासैनी नगरपालिका– १ का ८ बर्षीय सलाम पुलामी मगर हुन्। उनी उषा बालबाटिकामा कक्षा २ मा अध्ययनरत थिए । मोटर साइकलले ठक्कर दिएर मृत भएका बालक दैलेख जिल्ला आठबिस नगरपालिका ६ का ६ वर्षिय टुकदर्शन पुरी साउथ एसिएन स्कलार्स एकेडेमीमा युकेजीमा अध्ययनरत हुन । प्रदेश प्रहरी कार्यालय सुर्खेतले घटना शंकास्पद रहेको र अनुसन्धान गरिने जनाएको छ । स्कुलमा विद्यार्थी मृत भेटिएको घटनामा विद्यालय सञ्चालक समितिका सदस्यलाई नियन्त्रणमा लिएर छानविन भैरहेको प्रहरीको भनाइ छ । ठक्कर दिने मोटरसाइकलको पनि खोजी भैरहेको प्रहरीको भनाइ छ ।






