पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ स्थित थारु टोलमा भारतीय सशस्त्र सीमा बल (एसएसबी) नेपाली भूमिमा प्रवेश गरी निर्माणाधीन अस्थायी बाँध भत्काएको आरोप स्थानीयले लगाएका छन्। स्थानीयका अनुसार आइतबार दिउँसो करिब साढे ३ बजे सादा पोसाक र हतियारसहित करिब ७५ जनाको एसएसबी टोली नेपालतर्फ प्रवेश गरेको थियो।
स्थानीयका अनुसार एसएसबीले निर्माणाधीन १३२ मिटर लामो माटोको कच्ची बाँध डोजर प्रयोग गरी भत्काइदिएको हो। बाँध भत्काउन खोज्दा स्थानीयले रोक्ने प्रयास गरे पनि सुरक्षाकर्मी हतियारसहित आएकाले सफल हुन नसकेको बताइएको छ। घटनापछि स्थानीय र भारतीय सुरक्षाकर्मीबीच केहीबेर विवादसमेत भएको थियो।



सुस्ता बचाउ युवा अभियानका संयोजक योगेन्द्र गौतमले दुई देशको सीमा मानिएको सिमलको रुखभन्दा करिब ३०० मिटर नेपालतर्फ प्रवेश गरेर बाँध भत्काइएको दाबी गरे। उनका अनुसार यसअघि पनि गत असारमा भारतीय सुरक्षाकर्मीले सुस्ता क्षेत्रमा प्रवेश गरी बाँध निर्माण रोक्न दबाब दिएका कारण काम प्रभावित भएको थियो।
स्थानीय मुन्ना खाँले सीमा स्तम्भको अभाव, नारायणी नदीले धार परिवर्तन गर्दै जानु तथा भारतीय पक्षबाट हुने पटक–पटकको हस्तक्षेपका कारण सुस्ता क्षेत्रमा सीमा विवाद दोहोरिने गरेको बताए। नेपाल–भारतबीच लामो समयदेखि विवादित क्षेत्रका रूपमा रहेको सुस्तामा पछिल्लो घटनापछि स्थानीयले सरकारी निकायको ध्यानाकर्षण गराएका छन्।



