अरनिको राजमार्गअन्तर्गत सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्मको सडक विस्तारको समग्र प्रगति ५० प्रतिशत पुगेको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले सूर्यविनायक(धुलिखेल सडक विस्तारको अनुगमन गरी निर्माण प्रगतिबारे जानकारी लिनुभएको छ । निर्माण प्रगति, समस्यालगायतका विषयमा सडक विभागका महानिर्देशक, आयोजना प्रमुख, निर्माण व्यवसायीसँग छलफल गरी मन्त्री घिसिङले काम गर्ने अहिले उपयुक्त मौसम रहेकाले निर्माणलाई तिव्रता दिन आग्रह गर्नुभयो । सूर्यविनायक(धुलिखेल खण्ड १५ दशमलव ८ किलोमिटर सडकलाई ६ लेनमा विस्तार गर्न दुई प्याकेजमा विभाजन गरी काम भइरहेको छ । यसअन्तर्गत सूर्यविनायकदेखि साँगासम्मको ८ दशमलव ३ किलोमिटर खण्डको प्रगति ४५ प्रतिशत रहेको छ । साँगादेखि धुलिखेलसम्मको ७ दशमलव ५ किलोमिटर सडक खण्ड विस्तार प्रगति ५५ प्रतिशत रहेको छ ।
हाल दुबै प्याकेजको निर्माण भइरहेको छ । सडक सीमा विवाद, घरटहरा हटाउने समस्या, बजेटको अभावलगायतका कारणले आयोजनाको निर्माण कार्य प्रभावित भएको थियो ।






