काठमाडौं । सौर्यमण्डलमा रहेका आठमध्ये ६ ग्रह पृथ्वीबाट एकसाथ देखिएको छ । ८ वटा मध्ये ६ वटा ग्रह एकैसाथ पृथ्वीबाट पङ्क्तिबद्ध भएको देख्न विरलै पाइन्छ । सूर्यलाई परिक्रमा गर्ने क्रममा ती ग्रहहरू एकसाथ भेटिएका हुन् ।
सौर्यमण्डमा रहेका आठ वटै ग्रहले सूर्यलाई आफ्नै गतिमा परिक्रमा गरिरहेका छन् । सूर्यबाट ती ग्रहहरूको दूरी फरक–फरक रहेकोले परिक्रमा गर्ने समय पनि फरक रहेको छ । तर यो पटक संयोगवस आठमध्ये छ वटा ग्रह आपसमा भेटिएका हुन् ।



पङ्क्तिबद्ध भएर रहेका ग्रहहरूमा शुक्र, मंगल, बृहस्पति, शनि, अरुण र वरुण रहेका छन् । यो ग्रहलाई पृथ्वीबाट शनि, शुक्र, बृहस्पति र मंगललाई नाङ्गो आँखाले स्पष्ट देख्न सकिन्छ भने अरुण र बरुण मधुरो देखिएको छ । यदि दुरबिनको सहायता लिने हो भने ६ वटै ग्रहलाई स्पष्ट देख्न सकिन्छ ।
माघ महिनाको दोस्रो हप्तादेखि चौथो हप्ताको समयमा हाम्रो आकाशमा शनि, शुक्र, बृहस्पति र मङ्गल ग्रहलाई लामबद्ध भएर एउटै पङ्क्तिमा खडा भएको देख्न सकिन्छ ।
यो अवधिमा चन्द्रमा मध्यरातमा उदाउनुका साथै यो अर्धचन्द्राकार हुने भएकाले सूर्य अस्ताउनेबित्तिकै सफा आकाशमा सहज रूपमा दक्षिण–पश्चिम दिशादेखि उत्तर–पूर्व दिशामा देख्न सकिन्छ । यी ग्रह पङ्क्तिबद्ध रहे पनि तस्विर एकैसाथ लिन कठिन छ ।
काठमाडौंबाट अवलोकन गर्दा प्रकाश प्रदूषण न्यून भएको स्थानबाट सूर्यास्तपश्चात् यी ग्रहलाई खाली आँखाले अवलोकन गर्न सकिने छ ।
ग्रहहरूको लामलाई बिपी कोइराला मेमोरियल प्लानेटेरियम तथा अब्जरभेटरी र विज्ञान सङ्ग्रहालय विकास समितिले निःशुल्क अवलोकन गराउने भएको छ । सोमबार साँझ ६ बजेदेखि ८ बजेसम्म विज्ञान संग्राहालय कीर्तिपुरमा टेलिस्कोपको सहायताले सर्वसाधारणलाई निःशुल्क ग्रह अवलोकन गर्ने व्यवस्था मिलाइएको छ ।



