स्थायी सरकारको आश्वासन दिएका प्रमुख सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेबीच मतभेद बढ्न थालेको छ । सरकारका विषयमा कांग्रेसका नेताहरुले गरिरहेको आलोचना र यसबाट सशंकित एमालेका कारण दुई दलबीच मतभेद बढ्दै गएको देखिन्छ । त्यसबाहेक प्रमुख विपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकारको आयुबारे गरिरहने भविष्यवाणीका कारणसमेत कांग्रेस–एमालेबीच आपसमा संशय पैदा गराएको छ ।
लोकतन्त्र दिवसकै दिन कांग्रेस महामन्त्री गगन थापाले परिआए सरकारबाट बाहिरिने बताउनुभयो । सरकारका कामले बढाएको निराशाले वर्तमान व्यवस्थाप्रति नै प्रश्न उठिरहेका बेला व्यवस्था फेरिएकै दिन प्रमुख सत्ता साझेदार दलका शक्तिशाली नेताले दिएको सरकार छाड्ने अभिव्यक्तिले एमालेले त्यो स्मृतिमा पुर्याइदियो, जुन माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नयाँ वर्षको शुभकामना दिने क्रममा भन्नुभएको थियो, नयाँ वर्षमा सरकार परिवर्तन हुन्छ ।
सरकार सञ्चालनका लागि बनेको राजनीतिक संयन्त्रका सदस्य रहेका कांग्रेस महामन्त्री थापाले बारम्बार सरकारका काममा प्रश्न उठाइरहनुभएको छ । अनि उहाँको निन्तरको प्रहार सहन नसकेर कतिपय एमाले नेताहरुले प्रतिवाद नै थालेका छन् । तर उनीहरुले थापाले जस्तो सिधा भाषामा नभई घुमाउरो बाटो खोजिरहेका छन् ।



शिक्षकहरु तीन हप्ताभन्दा लामो समयदेखि सडक प्रदर्शनमा छन् । शिक्षकहरुको माग सम्बोधन गर्न नसकेको सरकारले यो प्रदर्शनलाई पनि षड्यन्त्रका रुपमा हेर्न थालेको छ । त्यसैले एमालेका कतिपय नेताहरुले शिक्षक महासंघको नेतृत्वमा कुन पार्टीमा आस्था राख्नेहरु छन् भन्ने कुरा खोजी खोजी सामाजिक सञ्जालमा स्टाटस लेख्न थालेका छन् । अर्थात् उनीहरु शिक्षक आन्दोलनलाई सत्तासँग जोडेर षड्यन्त्र भन्न पछि परेका छैनन् । पर्दा अगाडि देखिएका यी आरोप वा शंकाहरुको पृष्ठभूमि भने राजनीतिक नियुक्तिमा आफ्ना मान्छे भर्नु नै हो । सरकारले अहिलेसम्म गभर्नर नियुक्त गर्न सकेको छैन । गभर्नर सिफारिस गर्न गठित समितिका सदस्यहरु बैठक नै नबस्ने समितिको अर्थ नरहेको भन्दै पलायन हुन थालेका छन् । गभर्नरमा दुई दलबीच भइरहेको तानातानले अझै निकास पाउन सकेको छैन । जसलाई यी दई दलले अस्तित्वको लडाईं बनाइरहेका छन् । र राष्ट्र बैंकलाई नेतृत्वविहीनतामा पु¥याएका छन् । एकअर्काविरुद्ध खुलेर नबोलिरहेका यी दुवै पार्टीलाई एक–अर्को पार्टी नै बाधक बनेको भन्ने लागेको छ । यसले आपसी मतभेदलाई थप मलजल गरिरहेको छ । तर कांग्रेस सभापति शेरबहादुर देउवा स्वयम् भने दुई पार्टीबीचको सम्बन्ध गज्जब रहेको र मनमुटाब नरहेको दाबी गर्नुहुन्छ ।
देउवाले मनमुटाव छैन, सबै राम्रै छ भनेको कुरा महामन्त्री थापा, अर्का महामन्त्री विश्वप्रकाश शर्मा, नेता शेखर कोइरालाले आफ्ना प्रत्येक मन्तव्यबाट खण्डित गरिरहनुभएको छ ।
सरकारका कामले सडक तातिएको छ, कांग्रेस चाँहि आतिएको जस्तो देखिन्छ । प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्र दिवसका दिन आयोजित युथ सेलिब्रेसनमै भनिदिनुभएको छ, हाम्रो लागि सरकार मुख्य प्राथमिकतामा छैन । यी घटनाक्रमले सत्ता गठबन्धन भित्रि ज्वरोले थला परेको जस्तो देखिन्छ । यसले यो गठबन्धन दुवै दलका लागि भालुको कम्पारो बन्दै गएको प्रतीत भएको छ ।



