काठमाडौं । संयुक्त राष्ट्रसंघको ‘विकासका लागि वित्त’ सम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलन स्पेनको सेभियास्थित फेबिस प्रदर्शनी केन्द्रमा आजेदखि सुरू भएको छ । सम्मेलनमा विश्वका राष्ट्रप्रमुख तथा सरकार प्रमुख र प्रतिनिधिहरूको सहभागिता रहेको छ । उद्घाटन सत्रमा स्पेनका नरेश फिलिप द्वीतीय, स्पेन सरकारका अध्यक्ष (प्रधानमन्त्री) पेड्रो साञ्चेज, संयुक्त राष्ट्रसंघका महासचिव एन्टेनियो गुटेरेसले सम्बोधन गर्नुभयो ।
उद्घाटन सत्रमा नेपालबाट प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई, संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी नियोगका स्थायी प्रतिनिधि लोकबहादुर थापा, परराष्ट्र मन्त्रालयका शिष्टाचार महापाल कुमारराज खरेलको सहभागिता रहेको छ ।



साथै नेपालको ७७२ वटा स्थानीय निकायका प्रमुख मध्ये एक मात्र पालिका प्रमुख चन्द्रागिरि नगरपालिकाको मेयर घनश्याम गिरीको पनि उक्त सम्मेलनमा सहभागिता रहेको छ । सम्मेलनमा चन्द्रागिरिका मेयर गिरीले पनि सम्बोधन गर्ने कार्यसूचि रहेको छ ।
विकासका लागि वित्तसम्बन्धी यो सम्मेलनमा विश्वका सबै सरकारका नेताहरू, विश्व र क्षेत्रीय संस्था, वित्तीय र व्यापारिक संस्था, व्यवसायी, नागरिक समाज र संयुक्त राष्ट्र प्रणालीका सम्बन्धित प्रतिनिधिहरू जुटेका छन् । नेपालले अल्पविकसित, साना र टापु मुलुकको आवाजसमेतलाई अगुवाइ गर्दै सम्मेलनमा वकालत गर्नेछ । धनी मुलुकले गरिब र साना मुलुकका लागि गरेका लगानी प्रतिबद्धताको कार्यान्वयनका लागि पनि सम्मेलनमा छलफल हुनेछ ।



