काठमाडौं — ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री कुलमान घिसिङले देशमा उपलब्ध प्राकृतिक स्रोत र साधनको उचित उपयोग नहुँदा आर्थिक विकास अवरुद्ध भएको बताउनुभएको छ। राष्ट्रिय युवा परिषद्ले आज काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उहाँले वन तथा जङ्गलसम्बन्धी कडा कानूनका कारण देशले ठूलो आर्थिक सम्भावना गुमाइरहेको बताउनुभयो।

मन्त्री घिसिङका अनुसार, “वन क्षेत्रलाई केवल ‘इकोलोजी संरक्षण’को नाममा प्रयोग गर्न नदिँदा राज्यलाई ठूलो मात्रामा आयातमा निर्भर रहनुपरेको छ।” उहाँले आगामी दिनमा नयाँ नेतृत्वले यस्ता नीतिगत अवरोध हटाई स्रोत–साधनको दिगो र विवेकी उपयोगमा ध्यान दिनुपर्ने सुझाव दिनुभयो।

त्यसैगरी, अर्थविद् स्वर्णिम वाग्लेले कार्यक्रममा आर्थिक दृष्टिले नेपाललाई ‘केही भएको छैन’ भन्ने धारणा गलत भएको टिप्पणी गर्नुभयो। उहाँले २०४८ सालपछि निर्वाचित सरकारले अपनाएको आर्थिक नीतिका कारण नेपालमा धेरै परिवर्तन भएको र आगामी निर्वाचनपछि नयाँ नेतृत्वले देशको आर्थिक विकासका लागि दर्जनौँ कानून सुधार गर्नुपर्ने आवश्यकता रहेको औँल्याउनुभयो।
कार्यक्रममा सहभागीहरूले प्राकृतिक स्रोतको दिगो व्यवस्थापन, नीति सुधार र स्थानीय स्तरमा आर्थिक विकासलाई प्रवर्द्धन गर्न आवश्यक कदम चाल्नुपर्नेमा जोड दिनुभयो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय