काठमाडौं । प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले स्वदेशमा उत्पादित जुत्ता–चप्पलको निर्यात प्रवद्र्धनमा सरकारले आवश्यक सहजीकरण गर्नेमा प्रतिबद्धता जनाउनुभएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा फुटवेयर म्यानुफ्याक्चरर्स एशोसिएसन अफ नेपाल (एफएमएएन)का पदाधिकारी र सदस्यसँग छलफलमा प्रधानमन्त्री शाहले जुत्ता चप्पलको आयात प्रतिस्थापन तथा रोजगारी सिर्जना लागि आवश्यक सहयोग पु¥याउने बताउनुभयो । प्रधानमन्त्री शाहले तीन वटै तहको सरकारको समन्वयमा जुत्ता चप्पल उत्पादनसम्बन्धी सीपमूलक तालिम सञ्चालन तथा नेपाली जुत्ता–चप्पलको प्रवद्र्धन तथा बजारीकरणमा निजी क्षेत्रलाई प्रोत्साहन गरिने बताउनुभयो । यस्तै, उद्योगको उत्पादन क्षमताअनुसार कच्चा पदार्थ आयातको सीमामा ट्रयाकिङ तथा अभिलेख व्यवस्थापन प्रभावकारी बनाइने उहाँको भनाइ थियो ।



छलफलमा संघका पदाधिकारी तथा सदस्यले विभिन्न सीमा नाकाबाट हुने अवैध चोरी पैठारी नियन्त्रण गर्न, करको दायराबाहिर रहेका अन्तरराष्ट्रिय तथा राष्ट्रिय उत्पादनलाई कानुनी दायरामा ल्याउन, गुणस्तरहीन जुत्ता–चप्पलको आयात नियन्त्रण गर्न तथा आयातित जुत्ता–चप्पलमा अनिवार्य गुणस्तर परीक्षण लागू गर्न प्रधानमन्त्री शाहको ध्यानाकर्षण गराएका थिए ।



