काठमाडौं । ‘स्वस्थ जीवनका लागि पिउने पानीमा शुद्वता घरघरमा पुर्याउने हाम्रो प्रतिबद्धता’ भन्ने नाराका साथ स्थापना भएको महादेवस्थान मातातीर्थ खानेपानी तथा सरसफाई उपभोक्ता समितिले तत्कालीन अध्यक्ष स्वर्गीय सूर्यनारायण मानन्धरको अर्धकदको सालिक अनावरण गरेको छ ।





चन्द्रागिरि नगरपालिका वडा नम्बर–७ निवासी पूर्वप्रधानपञ्च, समाजसेवी एवम् खानेपानी उपभोक्ता समितिका तत्कालीन अध्यक्ष मानन्धरको २०७८ जेठ १० गते कोरोनाका कारण उपचारको क्रममा निधन भएको थियोे । मानन्धरले २०६३ सालदेखि २०७८ सालसम्म खानेपानी उपभोक्ता समितिमा रहेर काम गरेका थिए ।

स्व. मानन्धरको अर्धकदको सालिक वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले अनावरण गर्नुभएको हो । कार्यक्रममा कलाकार श्रेष्ठले मानवीय जीवनमा पानीको महत्व रहेको र पानीको लागि काम गरेका ब्यक्तित्वको प्रतिमा अनावरण गर्न पाउँदा आफूलाई खुशी लागेको बताउनु भयो । श्रेष्ठले सामाजिक कार्यमा लाग्ने व्यक्ति गुमाउनु पर्दा यसले अझ ठूलो क्षति पुर्याउने समेत बताउनु भयो ।

कार्यक्रममा बागमती प्रदेशका सांसद रमा आले, सांसद बिन्दु श्रेष्ठ, खानेपानी उपभोक्ता समितिका कार्यवाहक अध्यक्ष यलबहादुर महर्जनलगायतले स्व. मानन्धरले सामाजिक, राजनीतिक क्षेत्रमा पुर्याएको योगदान बारे चर्चा गर्नुभएको थियो ।
महादेवस्थान मातातीर्थ खानेपानी उपभोक्ता समितिले चन्द्रागिरि नगरपालिका वडा नम्बर ५, ६ र ७ का ४४ सय घरधुरीलाई नियमितरूपमा खानेपानी वितरण गर्दै आएको छ ।



