स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमा कार्यक्रमलाई सिंगो राष्ट्रको गौरवको योजना बनाउन आवश्यक रहेको दावी गर्नुभएको छ । आज मन्त्रालयमा स्वास्थ्य सुधार सुझाव समितिको प्रतिवेदन र कार्ययोजनाको सार्वजनिकीकरण कार्यक्रममा मन्त्री पौडेलले स्वास्थ्य बीमा कार्यक्रमलाई केवल स्वास्थ्य मन्त्रालयको कार्यक्रमका रूपमा सिमित राख्न नहुने बताउनुभएको हो ।
उहाँले स्वास्थ्य बीमा कार्यक्रमलाई सफलतापूर्वक कार्यान्वयन गर्न सरकारका सबै निकायहरूको दृढ संकल्प, नीति–निर्माताको सहयोग र समग्र राष्ट्रको एकीकृत प्रतिबद्धता जनाउनुभयो । यसका लागि मन्त्रालयको तर्फबाट प्रधानमन्त्री तथा सिंगो संसदको सहयोगमा हाल विभिन्न निकाय तथा मन्त्रालयमार्फत छरिएर सञ्चालन भइरहेका स्वास्थ्य सहायता तथा राहत कार्यक्रमलाई एउटै संरचनाभित्र समेटी एकीकृत व्यवस्थापन गरिने जानकारी दिनुभयो ।



मन्त्री पौडेलले स्वास्थ्य क्षेत्रमा डीपार्चार चाहिएको र त्यो बीमाको दिगो व्यवस्थापन र विस्तारबाट नै सम्भव रहेको जिकिर गर्नुभयो । उहाँले नेपालको स्वास्थ्यसम्बन्धी संवैधानिक दायित्व पूरा गर्ने तथा आम नागरिकलाई सर्वसुलभ स्वास्थ्य सेवा उपलब्ध गराउन, स्वास्थ्य बीमा कार्यक्रम महत्वपूर्ण भएको दावी गर्नुभयो । मन्त्री पौडेलले स्वास्थ्य बीमा प्रणालीमा जोडिएर गरिने औषधि उपचार लगायतका धेरै जसो कार्य डिजिटल मध्यमबाट गरिँदै आएको बताउँदै यसलाई विकास गरी पूर्णतया डिजिटल मध्यमबाट हुनेगरी विकास गर्ने प्रतिबद्धता जनाउनुभयो ।



