काठमाडौं । उज्यालो नेपाल पार्टीका काठमाडौं क्षेत्र नं. १० का प्रतिनिधिसभा सदस्य उम्मेदवार डा. राकेश न्यौपाने नेपालका चिनिएका चिकित्सक, समाजसेवी तथा उदाउँदै गरेका राजनीतिक व्यक्तित्व हुन् । स्वास्थ्य सेवा र सार्वजनिक जीवनलाई समानान्तर रूपमा अघि बढाउँदै आएका उनी चिकित्सकीय पेशालाई समाज परिवर्तनको माध्यम बनाउने सोचका साथ राजनीतिमा सक्रिय छन् ।



बाराको निजगढमा जन्मिएका डा. न्यौपानेले नेशनल मेडिकल कलेजबाट एमबीबीएस अध्ययन पूरा गरेका हुन् । २०७२ सालको विनाशकारी भूकम्पपछि उनले देशका विभिन्न दुर्गम तथा ग्रामीण भेगमा स्वयंसेवी चिकित्सकका रूपमा सेवा दिए । त्यो समयले नेपालका स्वास्थ्य, सामाजिक र आर्थिक यथार्थलाई नजिकबाट बुझ्ने अवसर दिएको उनी बताउँछन् । पेशागत यात्रामा उनले कोरियन अस्पताल, अल्का अस्पताल तथा रिदम न्युरो–साइकेट्रिक अस्पतालमा चिकित्सकका रूपमा काम गरिसकेका छन् । यससँगै संखुवासभाको सिलिचोङ गाउँपालिका अन्तर्गत ताम्कु प्राथमिक स्वास्थ्य केन्द्रको प्रमुखका रूपमा कार्यभार सम्हाल्दै ग्रामीण स्वास्थ्य प्रणाली सुदृढीकरणमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।
स्वास्थ्यसँगै खेलकुद क्षेत्रमा पनि उनको सक्रियता उल्लेखनीय छ । सन् २०१९ मा उनी नेपाल एन्टिडोपिङ कमिटी (NADO Nepal) का सदस्य रहेर खेलकुद क्षेत्रमा इमान्दारिता, पारदर्शिता र अनुशासन प्रवद्र्धनमा संलग्न भए । सार्वजनिक क्षेत्रमा नैतिकता र उत्तरदायित्व आवश्यक छ भन्ने उनको दृढ मान्यता यस भूमिकाबाट स्पष्ट देखिन्छ ।
राजनीतिक यात्रामा डा. न्यौपाने २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा निजगढ, बाराबाट स्वतन्त्र उम्मेदवारका रूपमा प्रतिस्पर्धामा उत्रिएका थिए । हाल उनी उज्यालो नेपाल पार्टीबाट काठमाडौं निर्वाचन क्षेत्र नम्बर १० बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका छन् । उनको राजनीतिक एजेन्डा सामाजिक न्याय, सुशासन, गुणस्तरीय शिक्षा, सर्वसुलभ स्वास्थ्य सेवा र युवामैत्री रोजगारी सिर्जनामा केन्द्रित छ । उज्यालो नेपाल पार्टीको आदर्शअनुसार उनी भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता, लोकतान्त्रिक मूल्यको संरक्षण र आमनागरिकको जीवनस्तर सुधारलाई प्राथमिकतामा राख्छन् ।
चिकित्सकको सेतो कोटबाट संसदको जिम्मेवारीसम्म पुग्ने आकांक्षासहित अघि बढिरहेका डा. राकेश न्यौपाने आफूलाई केवल राजनीतिज्ञ होइन, सेवा, नीतिगत सुधार र नयाँ नेतृत्वको प्रतीकका रूपमा स्थापित गर्न चाहन्छन् ।



