संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले हमासको आक्रमणपछि इजरायलमा हराइरहेका नेपालका विपिन जोशीको सुरक्षित घर फिर्तीको कामना गर्दै सबै बन्धकहरू विनासर्त रिहाई हुनुपर्ने बताएका छन् । प्रधानमन्त्री दाहालसँग सिंहदरबारमा भेटेपछि पत्रकार सम्मेलन गर्दै महासचिव गुटेरेसले हमासले गरेको आक्रमणको भत्सर्ना गरेका छन् । उनले निहत्था नागरिकहरुमाथिको आक्रमण कुनै पनि अवस्थामा न्ययोचित नहुने उल्लेख गरे ।



महासचिव गुटरेसले धेरै माइल टाढाको मध्यपूर्वमामा भएको द्वन्द्वले नेपालका जनताहरुलाई पनि नजिकबाट प्रभावित पारेको समेत स्मरण गरे । उनले हमासले गरेको आंतकपूर्ण आक्रमणबाट १० जना नेपाली विद्यार्थीहरु मारिएको घटनाप्रति दुःख समेत प्रकट गरे । हराइरहेका नेपाली विद्यार्थी जोशी सुरक्षित रुपमा फर्किन्छन् भन्ने कामना समेत महासचिव गुटरेसको थियो । उनले गाजा क्षेत्रको आक्रमण केही घण्टादेखि झन् भयावह बन्दै गइरहेको उल्लेख गर्दै उक्त कार्यप्रति खेद प्रकट गरे । सबै पक्षहरूले अन्तर्राष्ट्रिय मानवीय कानून अन्तर्गत आफ्ना दायित्वहरूको सम्मान गर्नुपर्ने महासचिव गुटरेसको भनाइ छ ।



