काठमाडौं । आज हरिशयनी एकादशी । सनातन धर्मावलम्बीहरुले आफ्नो घर–आँगनमा तुलसी रोप्दै छन् । बुधबार ३१.४५ घडीपला एकादशी तिथि रहेको पञ्चाङ्गमा उल्लेख गरिएको छ ।

ज्येष्ठ शुक्ल एकादशीका दिन राखिएको दलबाट तयार भएको तुलसीको बिरुवा हरिशयनी एकादशीका दिन सार्ने गरिन्छ । आषाढ शुक्ल एकादशीका दिन रोपिएको तुलसी भगवान् विष्णु र विष्णुप्रियाका नामले चार महिनासम्म पूजा गर्ने परम्परा छ । यो अवधिलाई चतुर्मास भनिन्छ । कार्तिक शुक्ल (हरिबोधिनी) एकादशीमा तुलसीविवाह गरेपछि चतुर्मास सम्पन्न हुने गर्दछ ।

आषाढ शुक्ल एकादशीदेखि भगवान् विष्णु क्षीरसागरमा सुत्ने विश्वासस्वरूप चार महिनासम्म विशेष मांगलिक कार्य गरिँदैन । यो अवधिमा भगवान् विष्णुसँग सम्बन्धित व्रत–उपवास र पूजापाठलाई महत्व दिइन्छ ।

यसैगरी यो समयमा पर्ने आठ वटा एकादशीलाई विशेषरूपमा लिइन्छ । वर्षमा २४ एकादशीमध्ये हरिशयनी र हरिबोधिनी एकादशीलाई विशेष महत्व दिइन्छ । चतुर्मासका एकादशीमा काठमाडौं उपत्यकाका चार नारायण र बूढानीलकण्ठ मन्दिरमा घुइँचो लाग्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय