तीनदिनदेखि हवाई जहाजको टिकट नपाउँदा सिमकोट गाउँपालिका–६ स्थित साहुबाडाका १४ महिनाका शिशु पृन्स सुनारको असोज १९ गते मृत्यु भएको छ । मुटुमा २ वटा प्वाल भएका बिरामी शिशुलाई जिल्ला अस्पताल हुम्लाले असोज १७ गते रेफर गरेको भए पनि हवाई कम्पनीका कर्मचारीले हवाई टिकट नदिंदा छोराको अकालमै ज्यान गएको मृतक बालकका बुवा रामलाल सुनारले आरोप लगाएकाछन् ।
उनले असोज १८ गते जिल्ला अस्पतालको रेफर गरिएको पत्र लगेर जिल्ला प्रशासन कार्यालय हुम्लामा पुगेर प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलले बालकको उद्धारका लागि तोक आदशे गर्दा समेत हवाई जहाज कम्पनीका कर्मचारीले टिकट दिन नमानेपछि छोरा गुमाउनु परेको बताए।



सोही बालकको गत साउन पहिलो हप्ता काठमाडौँको बाल कान्ती अस्पतालमा फोक्सोको इन्डोसकपि गरिएको थियो । अस्पतालले रेफर गरेको भएपनि टिकट नपाउदा अस्पतालमा उपचारत बालकको मृत्यु भएको जिल्ला अस्पताल हुम्लाकी सिनियर अनमी सरिता बोहराले बताईन ।राष्ट्रिय सडक सञ्जालले नछोएको एक मात्रै हुम्ला जिल्लामा दशैँ तिहार नजिकिए संगै हुम्लामा उडान भर्दै आएका तारा, सिता समिट र नेपाल एयरलाइन्सका जहाज पूर्वतर्फ डलर कमाउन लागेपछि हुम्लामा उडान प्रभावित हुँदै आएको छ । तर सो हवाई जहाज मध्ये दैनिक दिन समिट एयरले भने एक फलाइट गरिरहेको छ ।



