प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले भ्रष्टाचार, कुशासन, ढिलासुस्ती, असमानता र राजनीतिक विकृति अन्त्य गर्न सबै एकजुट हुनुपर्ने बताएका छन् । विजयादशमीका अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री शाहले प्रत्येक नागरिकलाई ‘हाम्रा लागि सरकार छ’ भन्ने अनुभूति गराउन आवश्यक रहेको बताएका हुन् । उनले समाजमा विद्यमान विकृति हटाउन इमानदार प्रयास, दृढ अठोट र सामूहिक मेहनत आवश्यक रहेको उल्लेख गरेका छन् । परिवर्तनका लागि सोच मात्र नभई व्यवहारसमेत बदल्नुपर्नेमा जोड दिँदै उनले सबैलाई सकारात्मक परिवर्तनका लागि एकजुट हुन आह्वान गरेका छन् ।
प्रधानमन्त्री शाहले विजयादशमीले मानिसभित्र रहेका अहंकार, लोभ, ईर्ष्या, हिंसा र विभेदजस्ता नकारात्मक प्रवृत्ति त्याग्न प्रेरणा दिने विश्वास व्यक्त गरेका छन् । देश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको शुभकामना दिँदै उनले विजयादशमीले भौगोलिक, सांस्कृतिक र भाषिक विविधताले भरिएको नेपाली समाजका सबै वर्ग, समुदाय र क्षेत्रका नागरिकलाई एकताको सूत्रमा बाँध्ने विश्वास व्यक्त गरेका छन् । वर्षौंदेखि टाढिएका साथीभाइ तथा आफन्तजनसँग भेटघाट गरी आत्मीयता साटासाट गर्ने अवसरका रूपमा पनि विजयादशमीको विशेष महत्त्व रहेको उनले उल्लेख गरेका छन् । प्रधानमन्त्री शाहले सबैलाई आपसी सद्भाव, एकता, सम्मान र प्रेम साटासाट गर्दै विजयादशमी मनाउन आग्रह गरेका छन् ।






