हिउँ चितुवाको वास्तविक सङ्ख्या पत्ता लगाउन मुस्ताङमा पहिलोपटक विस्तृत सर्वेक्षण सुरु गरिएको छ। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) ले मुस्ताङका चार स्थानीय तहमा शनिबारदेखि क्यामेरा ट्रयापिङमार्फत सर्वेक्षण सुरु गरेको हो। पूर्वअध्ययनअनुसार सम्भावित बासस्थानमा क्यामेरा राखिएको भए पनि यकिन सङ्ख्या पत्ता लगाउन पर्याप्त थिएन। कार्यालय प्रमुख उमेश पौडेलका अनुसार तल्लो र माथिल्लो मुस्ताङमा पाँच–पाँच किलोमिटरको दूरीमा १६१ वटा क्यामेरा ट्रयापिङ ग्रीड बनाइएको छ।
सर्भेका लागि माथिल्लो मुस्ताङमा ९९ र तल्लो मुस्ताङमा १६ वटा क्यामेरा प्रयोग भइरहेको छ। एक्यापले सर्वेक्षणका लागि प्राविधिक र स्थानीय जनशक्तिसहित करिब एक दर्जन भन्दा बढी जनशक्ति फिल्डमा खटाएको छ। अधिकतम छ महिनासम्म फिल्डमै क्यामेरा राखिने भए पनि वैशाख महिनाभित्र ट्रयापिङ क्यामेरा हटाइनेछ।







